back
stc
prabhu insurance
nabil

दुबई पुगेकी किशोरी कुवेतमा बिक्री

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पु(याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेका थिए ।

बेचबिखनमा परेकी किशोरी कुवेतमा पु(याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ ।

गत मङ्सिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पु(याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ ।

मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ ।

उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिका लगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पु(याएपछि एक हजार तीन सय कुवेती दिनारमा बिक्री गरिएको थियो ।

बेचबिखनमा परेपछि आफूहरूमाथि निरन्तर यौनशोषण तथा चर्को श्रम शोषणमा गरेका छन् । पीडित युवतीले कुवेतमा पुगेपछि पाँच जना व्यक्तिले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा तोकिएको काम गर्न नसके कुटपिट हुने गरेको प्रहरीको बयानमा उल्लेख गर्नुभएको छ ।

उपरीक्षक मल्लले बेचबिखनमा परेका युवतीलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको तथा काम गर्न नसक्ने  युवतीलाई चोरी लगायतका आरोपमा फसाउने गरिएको बताउनुभयो ।

कुवेतमा रहेका मानव तस्करका गिरोहले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरी त्यसलाई रेकर्ड गरेर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिई थप शोषण गरिएको थियो । यस्ता घटनामा संलग्न फरार अन्य व्यक्तिको खोजी जारी रहेको समेत ब्युरोले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।