काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्बाट दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक परिस्थिति फेरिएको छ । सरकार बनाउँदा बनेको गठबन्धन भत्किएर पुनः चुनावी गठबन्धनमा रहेका र केही नयाँ दलहरूसमेतको गठबन्धन कायम भएकाले फेरी सांसदको विश्वास लिनुपर्ने नैतिक जिम्मेवारी बोध गर्दै प्रधानमन्त्री विश्वासको मत माग्ने तयारीमा हुनुहुन्छ ।’
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारले समेत पूर्णता पाउने बताउँदै गजुरेलले चैत्र पहिलो हप्तामै मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको पनि जानकारी दिनुभयो ।
गत पुस २६ मा प्रतिपक्षी दलको समेत विश्वास प्राप्त गरेका प्रधानमन्त्री प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विश्वाससहित सरकारबाट फिर्ता भएपछि संसद्बाट पुनः विश्वास लिने तयारीमा जुट्नु भएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको यसअघि नै बताइसक्नुभएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।
प्रकाशित समय ०६:३० बजे