back
prabhu insurance
himalayanlife

५० मुरी धान फलाउने किसानलाई ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने

ताप्लेजुङ। कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ ।

गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम बापत ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो ।

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न यो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलो चरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई यस रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बु, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रविन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार देवीमाया र ङिमादावाले ७०/७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रविन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ ।  उनीहरुलाई रकम चाँडै उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताउनुभयो । रासस