back
prabhu insurance
himalayanlife

वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गर्ने  ३ जना पक्राउ

काठमाडौं । वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका–४ हरिहरपुर स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१८ भकुण्डे बस्ने २४ वर्षीय बिकास भन्ने बिनोद भुसाल, कास्की पोखरा महानगरपालिका–२ मिरुवा वतन भएका ३१ वर्षीय पुकार गुरुङ र सोही महानगरपालिका–१२ रानीपौवा वतन भएका ३० वर्षीय प्रकास गुरूङ रहेका छन् ।

बिनोदले विगत दुई वर्षदेखि पुकार, प्रकाश लगायतका व्यक्तिहरूको बैंक खातामा पटक–पटक गरी पीडितलाई ७४ लाख ९ हजार ५ सय रुपैयाँ रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने खबर साउन १ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैया ठगी गरेको कसूरमा बिनोदलाई जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको, अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषि फर्ममा वर्क परमिट भिसा दिलाउँछु भनि प्रलोभन देखाई बिनोदसँग सम्पर्क गरी भने बमोजिम गर्नु भनि पीडितलाई विश्वास दिलाएको र विनोदले विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको साथै उनीहरूले अमेरिकन एम्बेसी काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।