गैरआवासीय नेपाली संघको विश्व सम्मेलन कार्तिक ६–८ गतेसम्म काठमाडौंमा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को दशौं विश्व सम्मेलन गर्नका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ ।
आगामी २०७८ कात्तिक ६ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति गठन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री नभएपछि मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मालिरहेको र मन्त्रिपरिषद् बिस्तार भए लगत्तै आउने मन्त्रीले जिम्मेवारी सम्हाल्ने गरी उच्च स्तरीय आयोजक समिति गठन भएको मन्त्रालयका प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्सालले बताएकी छिन् ।
समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका सचिव, लगानी बोर्ड नेपाल, नेपाल राष्ट्र बैंक रहेको छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स पनि सदस्यमा रहेका छन् ।
सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि, सम्पर्क सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिए अनुरूप संघको विश्व सम्मेलनलाई प्रत्येकपटक उच्चस्तरीय आयोजक समिति मार्फत सहयोग गर्दै आएको छ । हरेक दुई–दुई वर्षको अन्तरालमा गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपालमा हुँदै आएको छ ।
वि.सं.२०७८ भदौ ५ ०८:४६



















