back
stc
prabhu insurance

ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी

बागलुङ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । दिउँसो १२ः४० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत ढोरपाटन पुगेर राष्ट्रपतिले आरक्ष कार्यालयको निरीक्षण समेत गर्नुभयो ।

निरीक्षणपछि राष्ट्रपति समक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले आरक्षमा रहेका सङ्ग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गर्नु भएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रपति भ्रमणमा आउनुहुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी हिजै ढोरपाटन पुगेका थिए । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो ।

सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।रासस