विद्युतबाट सस्तोमा खाना पकाउन सकिन्छ
काठमाडौं। एलपी ग्यासमा भन्दा इन्डक्सन चुल्होमा खाना पकाउन सस्तो र छिटो हुने गर्दछ। अहिले नेपालमा बिजुली पनि पर्याप्त छ। विजुली प्रयाप्त भएकाले उपभोक्ताले खपत बढाउनु पर्छ भन्ने विद्युत प्राधिकरणको पनि आग्रह छ।
आधुनिक सुविधा उपभोगमा नेपाली उपभोक्ता अरू देशमा भन्दा बढी अभ्यस्त छन्। तर इन्डक्सन चुल्होको प्रयोगमा भने उपभोक्ताहरू विधुत आपूर्तिमा आस्वस्त नभएकाले त्यति उत्साहित देखिएका छैनन्। आयातित एलपी ग्यासको तुलनामा बिजुली सस्तो पर्छ। त्यसैले उपभोक्ताको खर्चमा निकै फरक पर्न जान्छ। जोखिम पनि कम हुने देखिन्छ ।
विद्युत दिउँसो २ सय र राती ४ सय मेगावाट खेर गैरहेको छ। यसपछि नै विद्युतीय गाडी र विद्युतीय चुल्हो प्रयोग गर्न विधुत प्राधिकरणले आग्रह गरिरहेको छ । बढी विधुत खपत गर्नेलाई महसुलमा सहुलियतको नीति प्राधिकरणले अघि सारेको छैन ।
यसैले इन्डक्सन चुल्होमा खाना पकाउन नेपालीहरु तयार छैनन् । यसका अलवा धेरैजसो इन्डक्सन प्रयोगकर्ता विधुत आउने(जाने गरिरहने भएकाले बिजुलीको भर नहुनुलाई कारक मान्छन्।
सस्तो हुन्छ इन्डक्सनमा खाना पकाउन
एक अध्ययनका अनुसार ६ किसिमका ऊर्जाबाट खाना पकाउँदा सबैभन्दा छिटो र सस्तो हुनेमा इन्डक्सन चुल्हो नै देखिएको छ । उक्त अध्ययनले आधा किलो चामललाई ग्यासमा पकाउँदा करिब १२ मिनेट समय लाग्ने र इन्डक्सनमा पकाउँदा करिब ८ मिनेटमै पकाउन सकिने देखाएको छ। त्यस्तै ग्यासमा पकाउँदा ०.३२ किलोवाट आवर ऊर्जा खपत भएकोमा इन्डक्सनमा पकाउँदा ०.१४ किलोवाट आवर मात्रै ऊर्जा खपत भएको थियो।
त्यो समयमा बिजुलीको मूल्य प्रति युनिट १२ रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर १३ सय रुपैयाँ हुँदा पनि ग्यासमा पकाउँदा २.५ रुपैयाँ खर्च लाग्ने परिमाणलाई इन्डक्सनमा १.५ रुपैयाँ भन्दा कम खर्च लाग्ने देखिएको थियो।
अहिले बिजुलीको मूल्य प्रतियुनिट १० रुपैयाँमा झरेको छ भने ग्यासको मूल्य बढेर १५ सय रुपैयाँ नाघिसकेको छ। यसको अर्थ ग्यासबाट खाना पकाउँदा लाग्ने लागत उक्त परिमाणमा करिब ३ रुपैयाँ पुगेको छ भने इन्डक्सनको लागत भने घटेर करिब एक रुपैयाँ आसपासमै झरिसकेको छ।
४ जनाको परिवारलाई ग्यासमा खाना पकाउँदा एक दिनमा ७० रुपैयाँ बराबरको ग्यास खर्च हुन्छ। तर इन्डक्सनमा खाना पकाउँदा भने एक दिनमा बढीमा ३ युनिट अर्थात ३० रुपैयाँसम्मको मात्रै बिजुली खपत हुने विभिन्न अध्ययनले देखाएको छ।
इन्डक्सन चुलोमा किन छैन आकर्षण ?
उक्त अध्ययन अनुसार अहिलेको अवस्थामा एलपी ग्यासमा खाना पकाउन लाग्ने मूल्य भन्दा करिब ५० प्रतिशतसम्मै सस्तो हुन सक्छ इन्डक्सन चुलोबाट खाना पकाउदाको लागत । तैपनि नेपालीहरु इन्डक्सनमा खाना पकाउने भनेपछि सहज रुपमा लिने सकिरहेका छैनन। इन्डक्सनमा खाना पकाउन छुट्टै चुलो र भाडा चाहिने हुन्छ ।
स्तरिय इन्डक्सन चुलोको ५(७ हजार रूपैयाँ पर्छ। त्यसमा छुट्टै भाडा १०(१२ हजारको खरिद गर्न पर्छ। नागरिकको घरमा लागत बढछ । जसले गर्दा इन्डक्सनमा आकर्षण कम भएको हो। अर्कोतर्फ इन्डक्सनमा पकाउँदा ग्यास जसरी आगो बलेको नदेख्दा यसलाई प्रयोग गर्न अप्ठ्यारो मान्नेहरु पनि छन्।
नेपाली समाजको ठूलो हिस्सा इन्डक्सनभन्दा इन्फ्रारेट चुल्होमा खाना पकाउन सहज मान्ने भेटिएको छ। यसको कारण भने इन्फ्रारेटमा आगो बलेको देखिनु र ग्यासमा पकाउने भाडालाई नै प्रयोग गर्न मिल्नु हो ।
इन्फ्रारेटको लागत र समय भने ग्यासको भन्दा बढी लाग्ने अध्ययनले देखाएको छ। ग्यासमा १२ मिनेटमा पकाउन सकिने खाना इन्फ्रारेटमा करिब २० मिनेट लाग्छ । ग्यासमा २१ किलोवाट आवर ऊर्जा लाग्ने ठाउँमा इन्फ्रारेटमा ३५ किलोवाट आवर ऊर्जा खपत हुन्छ । ग्यासमा अहिलेको मूल्य अनुसार रू। ३ पाक्ने खाना इन्फ्रारेटमा घटेको विद्युत महसुलका कारण रू.३ मै पकाउन सकिने अध्ययनले देखाएको छ ।
नेपालले विद्युत खपत बढाउने रणनीति लिने हो भने इन्डक्सन वा इन्फ्रारेट जे सुकैमा खाना पकाए पनि फरक पर्दैन। तर बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ९ बजेसम्म शतप्रतिशत विद्युत आपूर्ति हुने ग्यारेन्टी प्राधिकरणले गर्नुपर्छ।
जुन कुरा आफ्नो नियन्त्रणमा हुन्छ, त्यसको लागि अतिरिक्त खर्च गर्न पनि पछि नपर्ने मानिसको बानी हुन्छ।ग्यासलाई आवश्यकता अनुसार अन–अफ गर्न सकिन्छ। तर बिजुलीको स्विच घरमा भए पनि कति बेला आउने जाने भन्ने ठेगान हुँदैन। त्यसको नियन्त्रण व्यक्तिसँग नभएर प्राधिकरणसँग हुन्छ।
त्यसैकारण पनि मानिसहरुले महंगो छ भन्ने थाहा पाउँदा पाउँदै पनि विद्युतीय चुल्होभन्दा एलपीजी ग्यासमै खाना पकाउन सहज मान्ने गरेका छन । सरकारको विद्युत खपत बढाउने र ग्यासको आयात घटाउने रणनीति बनाउन आवश्यक छ । ग्यासमा दिदै आएको अनुदान हटाएर वा विद्युत प्राधिकरणलाई दिएर तत्काल ४० प्रतिशत एलपीजी ग्यास प्रतिस्थापन गर्न सकिन्छ।
अहिले एउटा सिलिण्डर ग्यासमा करिब ७०० रुपैयाँसम्म अनुदान दिइएको छ । दैनिक ९२ हजार सिलिण्डरमा मात्रै साढे ६ करोड रुपैयाँ अनुदानमा गइरहेको छ । एक महिनामा यो रकम झण्डै दुई अर्ब रुपैयाँ हुन्छ। यति रकम हुने हो भने प्राधिकरणले आफ्नो विद्युतीय संरचना फेरेर गुणस्तरीय विद्युत आपूर्ति गर्न सक्छ।
अहिले नेपालमा दैनिक ९२ हजार सिलिण्डर ग्यास खपत हुन्छ । बिहान बेलुका विद्युत आपूर्ति १ मिनेट पनि झिमिक्क नहुने हो भने दैनिक ४० हजार सिलिण्डरको खपत तत्कालै घटाउन सकिन्छ ।
इन्डक्सन भएपनि खाना ग्यासमै पाक्छ
इन्डक्सन चुल्हो किनिसकेका हजारौं उपभोक्ताले यतिबेला ग्यासमै खाना पकाइरहेका छन। किनभने खाना पकाउने बेला झ्याप्प बत्ती गइदिन्छ । खाना काँचो हुन्छ र बिग्रिन्छ। रहरले इन्डेक्सन चुल्हो किन्ने सबैले दुई/चार दिन इन्डक्सनमै पकाउने प्रयास गरेका हुन्। तर दिनदिनै खाना पकाउने बेलामै बत्ती झ्याप झ्याप गएपछि उनीहरु पुनस् एलपीजीमै फर्किएको धेरैको अनुभव छ।
अहिले एउटा परिवारको अधिकांशले औसतमा २ र ३ वटासम्म सिलिण्डर जगेडामा राखेका छन । उनीहरुको त्यो सिलिण्डरको पैसा बैंकिङ प्रणालीमा आएपछि अर्बौ रकम जम्मा हुन सक्छ। बैंक ब्याजबाट आम्दानी पनि हुन्छ।
अथवा ती सिलिण्डर बेच्ने हो भने एउटा राम्रो इन्डक्सन चुल्हो र भाँडाकुँडा पनि किन्न सकिन्छ। अहिले एउटा ठिकठिकैको इन्डक्सन चुल्होको मूल्य ५/६ हजार रुपैयाँ पर्छ। धेरै राम्रो इन्डक्सन किन्ने हो भने १० हजार रूपैयाँ पर्छ । इन्डक्सनमा जान त्यति धेरै महंगो र अप्ठ्यारो छैन। चलाउन पनि सजिलो छ ।
तर यहाँ एकातिर जनचेतनाको कमी छ, अर्कोतिर विद्युतको गुणस्तरको पनि कमी छ। इन्डक्सनको प्रयोग बढाउन बजारमा स्तरीय चुल्हो पाइनु जरुरी छ, खाना पकाउने बेला लाइन नजाने ग्यारेन्टी पनि अति आवश्यक छ।
अहिले भएका विद्युतीय संरचनाहरु बत्ती मात्रै बाल्नको लागि बनाइएकोले घरको मिटर देखि बिजुलीको पोलमा भएको तार र ट्रान्सफर्मर नै फेर्नुपर्ने हुन सक्छ। इन्डक्सन चुल्हो बाल्न १५ एम्पियरको लाइन घरमा जोडेको हुनु पर्दछ। पुराना तार र वायरले इन्डेक्सन चुल्हो बाल्दा विधुत सर्ट र आगजनीको खतरा हुन्छ।
५ एम्पियरको लाइन लिएको ठाउँमा इन्डक्सन चलाउन सकिदैन। त्यसका लागि कम्तिमा १५ वा सकेसम्म ३० एम्पियरकै लाइन लिनुपर्छ। अर्कोतर्फ प्राधिकरणले लाइन दिने तारदेखि ट्रान्सफरमरको क्षमता पनि वृद्धि गर्नुपर्छ।
विकसित देशमा हाइड्रोजन इनर्जीबाट समेत खाना पकाउन सुरु गरिसकेका छन्। नेपालमा भने बल्ल हाइड्रोजन ऊर्जा सम्बन्धी अध्ययनको काम भइरहेको छ। ढिलो चाडो नेपालले पनि हाइड्रोजन इनर्जीमा जानैपर्ने भएकाले बिजुलीको बहस हुँदा हाइड्रोजनलाई छुटाउन हुदैन।
विद्युत प्राधिकरणले विद्युतीय गाडी र चुल्होको प्रवर्द्धन गरिरहेको बेलामा काठमाडौं विश्वविद्यालयले भने ग्रीन हाइड्रोजनबाट गाडी चलाउन र खाना पकाउन परीक्षण गरिरहेको छ।
वि.सं.२०७८ कात्तिक २४ १४:३३

















