back
stc
prabhu insurance

मंसीर १ गतेबाट ई पासपोर्ट जारी हुने

काठमाडौं । यही २०७८ मंसिर १ देखि सरकारले विद्युतीय राहदानी (ई पासपोर्ट) जारी गर्ने भएको छ। लामो समयदेखि चर्चामा रहेको ई पासपोर्ट जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ।

विभागले मंसिर १ गते विशेष कार्यक्रम आयोजना गरी पासपोर्ट जारी गर्न लागेको विभागका निर्देशक शरदराज आरनले जानकारी दिएका छन। नेपालले हालसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको छ। राहदानीलाई व्यवस्थित,सुरक्षित बनाउन ई पासपोर्ट जारी गर्न लागेको विभागले जनाएको छ।

सुरुवाती दिनमा सीमित पासपोर्ट जारी गर्ने निर्देशक आरनले बताएका छन। मंसीर १ गतेदेखि ई पासपोर्ट दिन सुरु गरे पनि एक हप्ताभित्र पूर्ण रुपमा सेवा दिने निर्देशक आरनको बताए।

एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले सुरुमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको छ। आरनले भने– तत्कालै सरकारले ई पासपोर्टलाई अनिवार्य गर्ने छैन। आवश्यक पर्नेले वा स्वेच्छाले बनाउन चाहनेले बनाउन सक्ने छन्।

राहदानी विभागले सन् २०२० को डिसेम्बरमा फ्रान्सको ‘आइडिइएमआइए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई पासपोर्ट छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो। सोहीअनुसार विभागले काम गरेको निर्देशक आरनले बताएका छन।

यतिबेला विश्वका विभिन्न विकसित मुलुकहरुले ई पासपोर्ट जारी गर्दै आएका छन्। इलेक्ट्रोनिक राहदानी एमआरपी भन्दा गुणस्तरीय र भरपर्दो हुने विभागले जनाएको छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो मानिने निर्देशक आरनले जानकारी दिए।

ई पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय चिपको प्रयोग गरिएको हुन्छ। जसमा पासपोर्ट बाहक व्यक्तिगत विवरण सहित बायोमेट्रिक डाटा राखिन्छ। यस पासपोर्टले दुरुपयोगको समस्यालाई सम्बोधन गर्ने विभागको दावी छ।

विभागका अनुसार सरकारले जारी गर्न लागेको ई पासपोर्टमा ६४ वटा पेजको छ। पासपोर्टको ती पृष्ठमा सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र विभिन्न ठाउँको फोटो राखिएको छ। ई पासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा राखिने निर्देशक आरनले बताएका छन।