आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई सचेत गराइयो
काठमाडौं । प्रेस काउन्सिल नेपालले चर्चित अन्तरवार्ता पत्रकार ऋषि धमलाले आचारसंहिता उल्लंघन गरेको निष्कर्षसहित सचेत गराएको छ । आगामी दिनमा पेशागत आचरण सहित आचारसंहिता पालना गर्नका लागि काउन्सिलले आज शुक्रबार सचेत गराएको जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जबर्जस्ती प्रवेश गरी लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत गैर पेशागत आचरण देखाएको भन्दै काउन्सिलले यस्तो कारबाही गरेको जनाएको छ ।
साथै काउन्सिलले पत्रकार धमलालाई पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा समेत आज बैशाख ९ गते शुक्रबार सहभागी गराएको जनाएको छ ।
दुई दिन अघि काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले धमलालाई सचेत गराउने र अभिमुखीकरण कक्षा लिन लगाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार हरेक हप्ताको शुक्रबार सञ्चालन गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा धमला सहभागी भई पत्रकार आचारसंहिताबारे थप जानकारी लिएका छन ।
काउन्सिलले अनलाइन पत्रिका दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी गराउने गर्दै आएको छ। यस कार्यक्रममा धमलाले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरूप सहभागिता जनाएका हुन ।
यसअघि पत्रकार धमलालाई प्रधानमन्त्री शेर बहादुर देउवा चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता प्रदर्शन गरि लाइभ समाचार प्रशारण गरेको विषयमा काउन्सिलको आचारसंहिता अनुगमन समितिले छलफलको लागि बोलाएको थियो ।
काउन्सिलको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं विषय विज्ञ तारानाथ दाहालले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्दै आचारसंहिता पत्रकारकै हितको लागि बनेकाले यस पुर्ण पालनाबाट मात्रै स्वच्छ पत्रकारिताको विकास हुने बताएका थिए ।
पत्रकारिता व्यवसाय नहुने भन्दै वरिष्ठ पत्रकार दाहालले पत्रकारले लेख्ने सामग्री सार्वजनिक हितको निम्ति हुनुपर्ने, सञ्चार स्वतन्त्रताको सीमा हुने, हरेक पाठकसँग सञ्चारमाध्यमको स्वामित्व हुने उल्लेख गरेका छन ।
आचारसंहिता कक्षामा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिदै वरिष्ठ पत्रकार दाहालले सम्पादकीय स्वतन्त्रता, गोपनीयताको हकको सम्मान, गल्ती सच्चाउन तत्परता, समाचारको स्रोत एवं सामाजिक दायित्वबारे जानकारी दिदै मानवअधिकारको रक्षार्थ कलम चलाउनु पर्ने धारणा राखेका थिए ।
काउन्सिलका बोर्ड सदस्य एवं विषय विज्ञ गोपाल बुढाथोकीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे प्रकाश पार्दै उनले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्गता मैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिएका थिए ।
निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन/प्रसारण गर्दा ध्यान दिनुपर्ने, विषय, शब्दावली, उखानटुक्काबारे जानकारी दिइएको भन्दै निर्देशिकाको अध्ययन गरी पत्रकारले समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले आचारसंहिताको अभिमुखिकरणलाई प्रभावकारी बनाउँदै लगिने र पत्रकारिताको विकासका लागि सबैले यसलाई पालना गर्नुपर्ने धारणा राखेका थिए ।
उनले नयाँ अनलाइन सूचीकरण गर्दा र आचारसंहिता उल्लंघनका घट्नामा अनिवार्य आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने कार्यक्रमलाई निरन्तरता दिइएको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत विभिन्न नयाँ अनलाइन सञ्चार माध्यमका सञ्चालकरसम्पादकको सहभागिता रहेको काउन्सिल स्रोतले बताएको छ ।
वि.सं.२०७९ वैशाख ९ १३:३९


















