शान्ति स्थापनार्थ साउथ सुडानतर्फ खटिई जान लागेका एपीएफ टोलीको बिदाई
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभयो ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफ।पी।यू मिशनमा जाने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानव अधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषा, धर्म र लिङ्ग नभनी विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।
उहाँहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले समेत खादा ओढाई शुभकामना सहित हार्दिक बिदाई गर्नुभएको हो ।
कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जना जुनियर अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १२ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।
वि.सं.२०७९ वैशाख ९ १३:४१


















