back
stc
prabhu insurance

सूचीकृत १४ फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । सूचीकृत १४ फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल नेप्सेमा १५ वटा फाइनान्स कम्पनीहरु सूचीकृत छन् । यो मध्ये मल्टीपर्पस फाइनान्सले भने हालसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेकाले खुद नाफा प्रभावित भएको देखिन्छ । चरम तरलता अभावका कारण ब्याजदर बढेको छ ।

जसका कारण फाइनान्स कम्पनीहरुको पनि लागत बढ्न गएको छ । सोही कारण फाइनान्स कम्पनीहरुको नाफा प्रभावित भएको हो । अब हेरौं, कुन फाइनान्स कम्पनीको अवस्था कस्तो छ ?

चुक्ता पुँजीमा मञ्जुश्री फाइनान्स अगाडि

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी मञ्जुश्री फाइनान्सको रहेको छ । यसको चुक्ता पुँजी ४० प्रतिशत ले बढेर १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ पुगेको छ । आइसीएफसी, रिलायन्स र पोखरा फाइनान्सको चुक्ता पुँजी पनि १ अर्ब माथि छ ।

एक वर्षको अवधिमा ११ फाइनान्स कम्पनीको चुक्ता पुँजी बढेको छ भने ३ कम्पनीको पुँजी गत वर्षकै यथावत छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा समृद्धि फाइनान्स रहेको छ । यसको पुँजी ७९.४८ प्रतिशत ले बढेर ७२ करोड ४८ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

जगेडा कोषमा गुडविल फाइनान्स अघि

चैत मसान्तसम्ममा सबैभन्दा धेरै जगेडा कोष गुडविल फाइनान्सको रहेको छ । यसको जगेडा कोष २१.९५ प्रतिशत ले बढेर ९४ करोड ६१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा १२ फाइनान्सको जगेडा कोष बढेको छ भने २ को जगेडा कोष घटेको छ ।

सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा नेपाल फाइनान्स रहेको छ । यसको जगेडा कोष ८२.२० प्रतिशत ले बढेर ४८ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

 

 

 

 

खुद ब्याज आम्दानीमा आइसीएफसी फाइनान्सको अग्रता

चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । यसको खुद ब्याज आम्दानी ३७.९८ प्रतिशत ले बढेर ३१ करोड ६५ लाख ८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, मञ्जुश्री फाइनान्सले ३० करोड ८६ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ ।

यसअवधिमा १२ फाइनान्स कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने २ कम्पनीको घटेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढ्नेमा समृद्धि फाइनान्स रहेको छ । गत वर्ष १९ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको यस फाइनान्सले यो वर्ष ५ करोड १७ लाख ४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

खुद नाफामा बेस्ट फाइनान्स अघि

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा बेस्ट फाइनान्स रहेको छ । यसको खुद नाफा ११४.४९ प्रतिशत ले बढेर १५ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्सले १२ करोड ३९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा ३ फाइनान्स कम्पनीको मात्रै खुद नाफा बढेको छ भने ११ कम्पनीको खुद नाफा घटेको छ । सबैभन्दा धेरै खुद नाफा बढ्नेमा नेपाल फाइनान्स रहेको छ । यसको खुद नाफा ८१६.१७ प्रतिशतले बढेर ३ करोड २० लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानीमा पनि बेस्ट फाइनान्सकै अग्रता

चैत मसान्तसम्ममा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बेस्ट फाइनान्सको रहेको छ । यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसाले बढेर २४ रुपैयाँ ५६ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्ने कम्पनी हो । यसअवधिमा बेस्ट, जानकी र नेपाल फाइनान्स बाहेक अरु ११ फइनान्स कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ ।