गौतम एआईजी बढुवामा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको छ।
गृह मन्त्रालयमा हिजो सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको नियमावली अनुसार एआईजीमा बढुवा सिफारिस गरेको हो ।
अब एकसाता उजुरी सुन्ने निकायमा कुनै उजुरी नपरे सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्ने छ । डीआईजी गौतमले २०५२ वैशाख ३ गते नेपाली सेनाका अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।
यसैबीच सशस्त्र प्रहरी बलमा तीन डीआईजी पद रिक्त छन् । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, एआईजी नारायण दत्त पौडेल र हिजो सोमबार एआईजी बढुवा सिफारिस भएका चन्द्रप्रकाश ९सीपी० गौतमको स्थानमा तीन डीआईजी पद रिक्त रहेको छ ।
निर्वतमान आईजीपी पुष्पराम केसीले घर जानेबेला एसपीत्रय उद्धव न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेनलाई कायममुकायम एसएसपी बनाएर गएपछि एसएसपीमा कुनै पद रिक्त छैन् ।
सशस्त्रमा हाल तीन रिक्त डीआईजीका लागि २०५४ सालमा नेपाल प्रहरीमा सईमा भर्ना भएका कृष्णराज पाठकसहित एसएसपीहरु अन्जनी पोखरेल, पुरुषोत्तम थापा, कृष्ण ढकाल, सुरेश श्रेष्ठ, मनिष थापा र बिरेन्द्र श्रेष्ठ लगायत प्रमुख प्रतिस्पर्धी रहेका छन् ।
वि.सं.२०७९ जेठ १० १५:२८




















