प्रहरीको २० डिआइजीमा बढुवा हुन ३० एसएसपीको प्रतिस्पर्धा
काठमाडौं । गत सोमबार गृह मन्त्रालयले पाँच एआईजीका लागि पाँच डीआईजीको नाम सिफारिस गरेसँगै २० डीआईजी पदका लागि ३० प्रतिस्पर्धीहरुको दौडधुप सुरु भएको छ ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सुरु भएसँगै प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवामा पनि दौडधुप सुरु भएको बताइएको छ ।
हाल विश्वराज पोखरेल, सहकुलबहादुर थापा, रविन्द्र धानुक मात्रै एआईजी रहेका छन् । गत जेठ ६ गते बढुवा भएका एआईजी वसन्त लामा जेठ ७ गते नै उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् ।
बाँकी रहेको पाँच दरबन्दीमा सिनियर डीआईजीहरू उत्तमराज सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंहलाई बढुवा लागि सिफारिस गरिसकेको छ ।
धीरजप्रताप सिंहलाई आईजीपीमा नियुक्ति गरिसकेका कारण पोखरेलको पनि पद रिक्त वा यथावत भन्ने यकिन छैन । हाल बढुवाको सिफारिसमा परेका एआईजी र वर्तमान आईजीपी सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।
३० वर्षे सेवा अवधि कायम रहेको खण्डमा उनीहरू सबै अबको ११ महिनापछि २०७९ चैत्र ११ गते घर जानेछन् । त्यसपछि अहिले डीआईजी हुनेहरू नै आईजीपीको दावेदार रहने छन् ।
अहिले रिक्त हुने २० जना डीआईजीका लागि ३० जना एसएसपी प्रतिस्पर्धामा रहेका छन् । उनीहरू तीन चरणमा बढुवा भएका हुन् ।
नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसाउद आलम खाँ एआईजी सहकुल थापासँगै प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । मसाउद आलम २०६९ माघ ११ गते तथा अरु दुई जना नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य २०७० साउन ४ गते एसएसपीमा बढुवा भएका हुन् । उनीहरू २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
त्यसपछि २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएका दाबेदार हुन् । यो ब्याचबाट एकजना आईजीपी पनि हुने सम्भावना छ । गत २०७९ चैत्र ११ गते आईजीपी धिरजप्रताप सिंहको अवकाशपछि यो ब्याचबाट एक जनाले प्रहरीको नेतृत्व गर्ने सम्भावना छ ।
तर एकसाथ तीन चरणमा भर्ना भएका र तीन चरणमै एसएसपी बढुवा भएका पनि डीआईजी हुने सम्भावना रहेकाले यो ब्याचकै आईजीपी नियुक्त हुने पुरै निश्चित भने छैन ।
२०७५ माघमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल एकसाथ एसएसपीमा बढुवा भएका हुन् ।
तर यीमध्ये पनि दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सँगै एसएसपी भएका अरूभन्दा ५ महिना पछिसम्म उनीहरू प्रहरी सेवामा रहन्छन् । भण्डारीसहितका अन्य १० जना भने २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।
यसपछि २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल, चन्द्रकुवेर खापुङ पनि डीआईजीका प्रतिस्पर्धी हुन् । तर यीमध्ये १० जना भने अर्को वर्ष मात्रै डीआईजी हुनेछन् ।
वि.सं.२०७९ जेठ १० १४:३५




















