युक्रेन आक्रमणपछि रुसी राष्ट्रपति पहिलो विदेश भ्रमणमा निस्किंदै
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले यही साता ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नु हुने भएको छ ।
युक्रेनसँग युद्ध सुरु भएपछि विदेश भ्रमणमा ननिस्कनुभएका राष्ट्रपति पुटिनले गर्न लागेको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणकै क्रममा उहाँले ताजकिस्तानका राष्ट्रपति इमोमाली राखामानेन र तुर्कमेनिस्तानका नेताहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।
रुसले युक्रेनमा फेब्रुअरीमा सुरु गरेको आक्रमण पाँचौं महिनामा प्रवेश गर्दा रुसमाथि पश्चिमा देशहरुले आर्थिक प्रतिबन्ध कडा पार्दै लगेका छन् । यी दुई देशको भ्रमणपछी रुसको मस्कोमा राष्ट्रपति पुटिनले इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोसँग भेट्ने कार्यक्रम पनि तय भएको छ ।
यसैबीच, हप्तौंपछि रुसी सेनाले युक्रेनी राजधानी किभ र आसपासको क्षेत्रमा ब्यापक बमबारी गरेको छ ।
आइतबार राति कम्तिमा १४ वटा मिसाइल राजधानी किभ र वरपराका क्षेत्रमा प्रहार गरिएको किभका उपमेयर भोलोदिमिर बोण्डारेन्कोले जानकारी दिएका छन् ।
बमबारीबाट कम्तिमा एक जनाको मृत्यु भएको र आधा दर्जन बढी मानिसहरू घाइते भएको पनि उनले जानकारी दिएका छन् । खर्किभ र चर्कासी शहरमा पनि रुसी सेनाले मिसाइल प्रहार गरेको छ । जी सेभेनका नेताहरु जर्मनीमा भेला भईरहेको बेला रुसी सेनाले ब्यापक बमबारी गरेको हो ।
वि.सं.२०७९ असार १३ ०७:५८




















