back
stc
prabhu insurance

पाँच वर्षपछि वार्षिक सत्तरी अर्बको बिजुली निर्यात हुने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको पाँच वर्षमा वार्षिक करिब ७० अर्ब रुपियाँको विद्युत् निर्यात हुने बताउनु भएको छ । आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा राष्ट्रिय सभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले आन्तरिक माग पूरा भएको अवस्थामा मात्र विद्युत् निर्यात गरिने स्पष्ट पार्नुभयो ।

मन्त्री भुसालले राष्ट्रिय सभामा दिनुभएको जानकारी अनुसार आगामी आर्थिक वर्ष वर्षायाममा करिब १५ देखि २० अर्ब रुपियाँको विद्युत् निर्यात गर्न सकिनेछ भने आगामी पाँच वर्षमा हरेक वर्ष करिब ७० अर्ब रुपियाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना छ ।

आगामी दुई वर्षमा हिउँदमा पनि विद्युत् किन्नु नपर्ने अवस्थामा पुग्ने र वर्षात्का बेला ५० प्रतिशत विद्युत् बचत हुने भएकाले त्यो बिजुली भारत, बङ्गलादेशलगायतमा निर्यात गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भुसालले मुलुकभित्र विद्युत् नपुगेका स्थानमा विद्युत् पु(याउने र पुगेका ठाउँमा पनि पर्याप्त र भरपर्दो विद्युत् आपूर्ति गर्ने बताउनुभयो ।

“स्पष्ट कार्ययोजना बनाएर पूर्ण विद्युतीकरणका योजना बनाई कार्यान्वयन गर्न लागिएको छ । आगामी दुई वर्षभित्र सबैलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्नेछ,” उहाँले भन्नुभयो ।

यस वर्ष आन्तरिक खपत करिब २० प्रतिशतले बढेको जानकारी दिँदै सरकारले विद्युत् निर्यातभन्दा स्वदेशमै खपत बढाउन बढी प्राथमिकता दिएको उहाँले प्रस्ट पार्नुभयो । प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ३३० युनिट रहेको छ ।

आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब सात सयदेखि एक हजार मेगावाट विद्युत् प्रणालीमा थपिँदै जाने आकलन मन्त्रालयको छ ।

यो उत्पादनले दुई वर्षपछि सुक्खायाममा समेत आन्तरिक उत्पादनले नै आन्तरिक माग धान्‍नेछ तर वर्षायाममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत् बढी हुने भएकाले निर्यात नगरी नहुने मन्त्री भुसालले बताउनुभयो ।

“यदि बढी विद्युत् भारत तथा बङ्गलादेशमा बेच्न सकेनौँ भने विद्युत् उत्पादकसँग टेक अर पे आधारमा गरिएको विद्युत् बिक्री सम्झौताबाट देशले ठूलो नोक्सानी बेहोर्नु पर्नेछ,” उहाँले भन्नुभयो ।

उहाँले अहिले वर्षाको समयमा सबै उत्पादित विद्युत् स्वदेशमै खपत हुन नसकेको अवस्थामा बढी हुने ३६४ मेगावाट विद्युत् भारतमा निर्यात भइरहेको जानकारी दिनुभयो ।

नेपालले हाल वर्षायाममा बढी भएको ३६४ मेगावाटसम्मको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा दैनिक १० देखि १२ करोड रुपियाँमा बिक्री गरिरहेको छ । अहिलेसम्मको निर्यातको औसत दर प्रतियुनिट ११ रुपियाँ ३८ पैसा छ ।