काम नलाग्ने नोट नष्ट गर्न पोखरामा ‘बीएसबीएस’ मेशिन
कास्की । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) मेशिन सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार एक कार्यक्रमका बिच ‘स्विच अन’ गरेर मेशिनको शुभारम्भ गर्नुभयो ।
यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकोमा अब भने बीएसबीएस मेशिनको माध्यमबाट नोट नष्ट गरिनेछ । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ ।
कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे मेशिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताउनुभयो ।
बैंकको कार्यलाई आधुनिक एवम् प्रविधियुक्त बनाउनका लागि बीएसबीएस मेशिनको प्रयोग उपयोगी बन्ने उहाँले बताउनुभयो ।
यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेशिनको प्रयोगबाट त्यसलाई स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने कार्यक्रममा जानकारी गराइयो । रासस
वि.सं.२०७९ असार १७ १९:२५




















