नेपाल वायुसेवा निगमको ६४औं वार्षिकोत्सव मनाइयो
काठमाडौं । नेपाल वायुसेवा निगमको ६४औं वार्षिकोत्सव आज निगमको केन्द्रीय कार्यालयमा मनाइयो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै निगमका महाप्रवन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले निगमका अगाडि प्रसस्त चुनौतीहरु छन तापनि सामुहिक प्रयासको माध्यमले सफलतातिर लाग्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
ज्वारचनले नयाँ काम थाल्नेतिर भन्दा पहिलो चरणमा पुराना योजना पुरा गर्ने तिर निगमले प्रयास थालेको छ भने भविष्यमा निगमका हितमा हुने कार्यनीति र कार्यक्रम थालिने छ भन्नुभयो । निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उहाँले बताउनुभयो ।
महाप्रवन्धक ज्वारचनले संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउने तर्फ निगमको प्रयास रहने छ तर त्यसमा एक्लो व्यक्तिको प्रयास मात्र पर्याप्त नहुने भएकोले निगमका समस्त कर्मचारीको सहयोगको अपेक्षा रहेको धारणा व्यक्त गर्नुभयो र निगमको बजार हिस्सा बढाउन प्रयास गरौं भन्नुभयो ।
समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्तर कर्पोरेट फुटसल प्रतियोगितामा प्रथम भएकोमा निगमका खेलाडीहरुलाई महाप्रवन्धक ज्वारचनले सम्मानपत्र प्रदान गर्नुभयो ।
सूचना संचार तथा प्रविधिमा संसारले मारेको फड्को सँगै निगमले वार्षिकोत्सवको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठबाट नयाँ वेवसाइट प्रारम्भ गरियो ।
यस मार्फत निगमको अनलाइन टिकट बुकिङ्ग गर्न सजिलो हुनेछ । अनलाइन बुकिङ्गको प्लेटफर्म मैत्री सिष्टमले एक महिना भित्र नै यात्रुमहानुभावहरुले घरमै बसी टिकट काट्ने सुविधा प्राप्त गर्ने छन् ।
निगमको नयाँ वेवसाइटमा च्याटबक्सको पनि सुविधा छ जस्ले गर्दा यात्रुमहानुभावको आफ्नो जिज्ञासा, गुनासोको पृष्ठपोषण हुनेछ ।
वेवसाईटमा रहेको उडान तालिकाबाट यात्रुमहानुभाव तथा सरोकारवालाहरुले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
साथै आगामी दिनहरुमा निगमले अन्तर्राष्ट्रिय उडानको बुकिंङ्ग सहितको मोवाइल एप, Loyalty Management को सुविधा पनि थप गर्ने भएको छ । यो वेवसाइट मार्फत निगमको फेसबुक, ट्वीटर, युटुयुव र इन्स्टाग्राममा जोडिन सक्ने सुविधा रहेको छ ।

वार्षिकोत्सव समारोह समितिका संयोजक एवं वाणिज्य विभागका निर्देशक जनकराज कालाखेतीले संस्था विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थामा आइपुगेको छ भन्दै भविष्यका लागि प्रशासनिक सुधार, प्रविधिमैत्री, सेवामा सबलीकरण र विमान थप्ने सोचका साथ अगाडि बढनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उक्त अवसरमा निगमको प्रतीकको रुपमा मानिंदै आएको आकाश भैरवको पूजा पनि गरिएको थियो ।
वार्षिकोत्सवको उपलक्ष्यमा असार १६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा १५४ जनाले रक्तदान गर्नुभएको थियो ।
वि.सं.२०७९ असार १७ १९:५७




















