back
stc
prabhu insurance

वैदेशिक रोजगार विभागले म्यानपावरमा छापा मार्दा ८७ थान पासपोर्ट जफत

काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावरमा छापा मार्दा ८७ थान पासपोर्ट जफत गरेको छ । दिउँसो काठमाडौँको सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजातसहित८७ थान पासपोर्ट जफत गरिएका हुन् ।

छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावर मार्फत वैदेशिक रोजगारीको प्रक्रिया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले ८७ थाप पासपोर्ट जफत गरेको हो।

उक्त म्यानपावरमा किङफिसर नामक म्यानपावर मार्फत मलेसिया रोजगारीको प्रक्रिया अगाडि बढाइएका पासपोर्ट भेटिएको थियो । कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको छ ।

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो।

विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरू मलेसिया जाने तरखरमा रहेका थिए ।

त्यसरी मलेसिया जान लागेका युवाहरूलाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेपछि उनीहरूले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए। त्यस्तै म्यानपावरका कर्मचारीहरूले पनि उक्त म्यानपावरले फ्री भिसा फ्री टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन्।

विभागले हिजो मात्रै कतार पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएपछि अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा हानेर कागजातहरू नियन्त्रण लिएको थियो । दुवै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ ।