back
stc
prabhu insurance

चीनसँगका दुई नाका बन्दको अवस्थामा

काठमाडौं । चीनले नेपालसँगको प्रमुख दुई नाकास्थल तातोपानी र रसुवागढी पूर्व सूचना बिना बन्द गरेको छ।
परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्वीपक्षीय वार्तामा नाका सञ्चालनलाई थप सहज बनाउने सहमति भएको एक दिनपछि तातोपानी र रसुवागढी नाका पूर्व जानकारी बिना बन्द भएको छ।

चीनले कोरोना महामारी बढेको भन्दै नाका बन्द गरेपछि तिज र दशैंको सामग्रीहरु उतै रोकिएको व्यवसायीहरुले बताएका छन् ।कोरोना महामारी सुरु भएपछि चिनियाँ पक्षले लामो समयसम्म नाकाहरु बन्द गरेको थियो ।

पछिल्लो समयमा चिनियाँ बस्तुको आयातलाई प्राथमिकता दिएर दुबैतर्फको नाकालाई आंशिक सञ्चालन गरेपनि चिनियाँ पक्षले हिजो साउन २६ गते बिहीबारबाट पूर्व सूचना नदिइ नाका बन्द गरेको छ । तातोपानीसँगै चीनले रसुवागढी नाका समेत बन्द गरेको छ।

चीनले कोरोना नियन्त्रणको लागि नाकामा कडाइ गर्दै आएको छ। कोरोना सुरु भएको वर्ष अर्थात गत २०७६ माघ १४ गतेदेखि नेपालतर्फको नाकामा कडाइ गरेको थियो।

पछि आंशिक रुपमा खुल्ला गरे पनि त्यसयता अहिलेसम्म पूर्ण रुपले नाका खोलेको छैन । नेपालबाट निर्यात हुने वस्तुहरु कोभिड सुरु भएयता पूर्णरुपले जान पाएका छैनन् ।

नेपाली व्यवसायीहरुले वस्तु आयात र निर्यात खुल्ला हुनुपर्ने माग राख्दै आएका छन् । नेपाली व्यवसायीहरुले चिनियाँ पक्षको यो कार्यलाई नाकाबन्दीसँग तुलना गर्दै आएका छ्न ।

चिनियाँ पक्षले नाका आफू खुसी सञ्चालन गर्दा नेपाल बजारमा सामग्रीहरुको अभाव देखिएको छ भने मूल्य वृद्धि पनि उच्च बन्न पुगेको छ ।