बौद्धिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग बर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानून ल्याउन माग गरेको छ ।
गत भाद्र १ गते संघले ‘नेपालमा बैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सो कुराको माग गरेको छ ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य दिंदै संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले बर्तमान परिप्रेक्षमा बौद्धिक सम्पत्ति अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै बिश्वब्यापी डिजिटल परिबर्तन हुँदै गरेको समयमा यो अत्यन्त महत्वपूर्ण तथा समसामयिक बिषय रहेको र यस सम्बन्धी हाम्रो कानूनमा पनि समय सापेक्ष सुधार हुनु आवश्यक रहेको बताएका छन।
यसमा प्रभावकारी कानूनको अभावमा नेपालमा बिदेशी लगानीको आगमनलाई सुनिश्चित गर्न चुकिरहेको बताएका छन ।
बौद्विक सम्पत्ति ऐनको अभावमा नेपालमा संचालित र स्थापित बिदेशी लगानीका कम्पनीहरुले पनि समस्या भोग्नु परेको छ।
बौद्धिक सम्पत्तिको कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा हामीले बिदेशी लगानी आकर्षित गर्न नसकिरहेको बताउदै संघका कार्यबहाक अध्यक्ष केसीले सो सम्बन्धी प्रभावकारी कानून ल्याउन माग गरेका छन ।
बौद्धिक सम्पत्तिको कानूनकै कमजोरीको कारण नेपालमा संचालित बिदेशी कम्पनीहरुमात्र नभई स्वयं हाम्रै कतिपय नेपाली कम्पनीहरुलाई समेत हामीले प्रबर्द्वन र प्रोत्साहन र्गन सकिरहेका छैनौं। त्यसकारण पनि यो बौद्धिक सम्पत्तिको कानूनको तड्कारो आवश्यकता रहेको केसीको जोड थियो ।
बौद्धिक सम्पत्ति भित्र ट्रेडमार्क, कपीराईट, पेटेन्ट डिजाईन लगायतका बिषयहरु समेत समेटिन्छन। यो एक बृहत बिषय पनि हो।
यस सम्बन्धी कानून बिश्व बौद्धिक सम्पत्ति संगठन तथा अन्य संस्थाहरुले तय गरेका मापडण्ड अनुरुप गर्न आवश्यक रहेको केसीको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको सम्भावना र अवसर हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको संरक्षणका लागी समय सापेक्ष कानूनको अभावमा लगानी भित्रिन नसकेको बताएका छन।
उनले पछिल्लो समय तयार भएको बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी बिधेयकको मस्यौदामा सरकारले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए।
वरिष्ठ उपाध्यक्ष ढकालले यसमा जनचेतनामा पनि कमी रहेको हुनाले प्रचार प्रसारमा पनि ध्यान पुर्याउनुपर्ने आवश्यक रहेको बताए । बरिष्ठ उपाध्यक्ष ढकालले मस्यौदा लगानी मैत्री र लगानी भित्र्याउन सहज हुने किसिमको हुनुपर्नेमा जोड दिंदै सरोकारवाला पक्षसँग छलफल र समन्वयमा कानूनहरु ल्याउदा त्यस्ता कानून तथा नियमहरु प्रभावकारी हुनुका साथै कार्यान्वयनमा पनि सहज हुने र सबैलाई लाभदायी हुने बिचार ब्यक्त गरेका छन ।
उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून भए पनि समय अनुसार त्यसमा परिमार्जन हुन नसक्दा हाल देखा परेका बौद्धिक सम्पत्ति सम्बन्धी समस्या समाधान हुन नसकेको बिचार ब्यक्त गरेका थिए।
उनले प्रतिलिपी अधिकार, पेटेन्ट, डिजाईन तथा ट्रेडमार्क जस्ता बौद्धिक सम्पत्ति सम्बन्धी बिषयलाई हाम्रो संबिधानमै ब्यबस्था गरिदिएपनि जनचेतना र यस सम्बन्धी कानूनको अभावमा बौद्धिक सम्पत्तिका मुद्दाहरु ओझेलमा पर्ने गरेको बताएका थिए ।
बिदेशी लगानीकर्ताहरुले कुनै पनि देशमा लगानी गर्न पहिले त्यहाँ आफ्ना बौद्धिक सम्पत्तिलाई पूर्व शर्तको रुपमा लिने भएकाले पनि यसलाई महत्वपूर्ण पक्षको रुपमा लिनु पर्ने र यसो भयो भने प्रबिधि हस्तान्तरण, पूर्वाधारमा लगानी र साना तथा मझौला उद्योगको प्रबर्द्वन गर्न सहज हुने तर्फ सबैको ध्यानाकर्षण गराउदै धेरै बिदेशी कम्पनीहरुले नेपालमा लगानी गर्न इच्छा देखाएको भएपनि बौद्धिक सम्पत्ति सम्बन्धी कानून नहुँदा लगानी आउन समस्या भएकोले समयमा नै यस सम्बन्धी मस्यौदा फास्ट ट्रयाकबाट ल्याउन सरकारसँग माग गरेका छन ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि ब्यापार घाटा कम गर्नको लागि सरकार तथा नीजी क्षेत्रसँग समन्वयमा काम गर्न सकिने भएकोले सरकारले निर्यातमूखी नीतिमा जोड दिनुपर्ने बताउदै बौद्धिक सम्पत्ति सम्बन्धी कानून समय सापेक्ष हुनुपर्नेमा जोड दिएका छन।
उनले यसको अभावमा नेपालमा उत्पादित बस्तुको ब्राण्डिंग गरेर निर्यात गर्न कठिन भएको र यसका लागि कानून आवश्यक भएको बताएका छन ।
छलफलमा लामो समय देखि बौद्धिक सम्पत्ति सम्बन्धी कानूनी पैरवी गरीरहेका बरिष्ठ अधिबक्ता सज्जनवरसिंह थापाले नेपालमा ५७ बर्ष पूरानो कानूनको अभ्यास भईरहेकोले पछिल्लो समय उत्पन्न भएका बौद्धिक सम्पत्तिका मुद्दाहरुको निराकरण तथा समाधान हुन नसकेको बताएका छन ।
बिश्वमा सूचना तथा प्रबिधिको बिकासमा तिब्रता आएसँगै बौद्धिक सम्पत्तिको महत्व बढेर गएको भएपनि नेपालमा भने समय सापेक्ष कानूको निर्माणमा सरोकारवाला निकायले गम्भिर नभएको कारण पूरानै कानून कार्यान्वयनमा रहेको पनि बताएका छन ।
नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीहरुको प्रतिनिधित्व गर्दै सूर्य नेपालका प्रबन्ध निर्देशक रबिकुमार रायभरमले आफ्नो भने( बिश्वमा कूल अर्थतन्त्रको एक तिहाई भाग बौद्धिक सम्पत्तिमा आधारित भएपनि नेपालमा भने समय सापेक्ष कानून तर्जुमा हुन नसक्दा यो क्षेत्रले गति लिन सकेको छैन।
उनले नेपालमा फितलो कानून र समय सापेक्ष कानून हुन नसक्दा बिश्वमा ख्याति कमाएका ब्राण्डको नाम राखेर ब्यापार ब्यबसाय संचालन हुने गरेको छ । यसले नेपालमा भित्रिने लगानी तथा उद्योगहरु प्रभाबित भएका छन् भने लगानी आउनमा समस्या देखिएको बताए।
कार्यक्रममा किरण सुजका अध्यक्ष तथा प्रबन्ध निर्देशक अमिर प्रताप राणाले बौद्धिक सम्पत्ति संरक्षणमा सरकारले प्रभावकारी र समय सापेक्ष कानून तर्जुमा नगर्दा नेपालमा भएका उद्योगहरुले पनि समस्या भोगीरहेको बताउदै उनले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको कानून फितलो हुनुका साथै समय सापेक्ष बनाउनु पर्ने कुरामा जोड दिएका छन।
वि.सं.२०७९ भदौ ३ १८:३०




















