एनआईसी एशिया क्यापिटलको छैठौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौँ वार्षिक साधारण सभा बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा सम्पन्न भएको छ ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै, उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (करसहित) का दरले हुन आउने ११ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ।व। २०७८र०७९ मा १२ करोड आठ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६० रुपैयाँ ३९ पैसा कायम गरी सञ्चालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए ।
उनले क्यापिटल स्थापना भएको पाँच वर्ष चार महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजनासहित पाँच वटा योजना सञ्चालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत पाँच सय ७३ जना ग्राहकहरुबाट एक अर्ब ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए ।
साथै, क्यापिटलले सञ्चालनमा आएको पाँच वर्ष चार महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १ सय ४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।
अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पुनःखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र किर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ ।
निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको छ ।
क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डमा (इन्भेष्टमेन्ट प्लान) एसआईपी र सिस्टमेटिक वीथड्रल प्लाल (एसडब्लुपी) सञ्चालन गर्न लागेको छ ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नका लागि आसय पत्र प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लागनी कोष अन्तर्गत प्राईभेट इक्विटी र भेञ्चर इक्विटी सेवा प्रदान गर्ने योजना रहेको जानकारी दिएको छ ।
वि.सं.२०७९ भदौ ९ १४:२१




















