संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका २ सय ७४ जना विद्यार्थीलाई भरतपुरद्वारा पूर्ण छात्रवृत्ति
चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका दुई सय ७४ जना विद्यार्थीलाई आज बिहीवार पूर्ण छात्रवृत्ति दिएको छ ।
महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिका लागि छनोट गरेको हो ।
भरतपुर महानगरकी मेयर रेनु दाहालले मनखुसी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति अन्त्य गरेर विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रवृत्ति दिन सफल भएको जानकारी दिनुभयो ।
मेयर दाहालले गरिबी तथा विपन्नताकै कारण शिक्षाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था हटाउन महानगर लागिपरेको बताउनुभयो । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क पढ्न पाउनेछन् ।
महानगर सामाजिक विकास समितिका संयोजक तथा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनैपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो ।
उहाँका अनुसार कक्षा ११ मा अध्ययनरत कुल विद्यार्थीको पाँच प्रतिशत विद्यार्थीलाई महानगरबाट सिफारिस भएका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । अन्य पाँच प्रतिशतलाई विद्यालय छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार हुने व्यवस्था छ ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्मार्ट महानगरलाई सघाउन विद्यार्थी छात्रवृत्ति कार्यक्रमले टेवा पुर्याउने बताउनुभयो ।
वि.सं.२०७९ भदौ ९ २०:४२




















