back
stc
prabhu insurance

बैंकहरुले नगद लाभांश दिए ६० अर्ब बजारमा आउने

काठमाडौं स् पुरानो आर्थिक वर्ष सकिएसँगै अब बैंकहरुले केही समयपछि लाभांश घोषणा गर्न सुरु गर्नेछन् ।

यसपटक बैंकहरुले नगद वा बोनस सेयर कुनलाई प्राथमिकतामा राखेर लाभांश वितरण गर्छन् भन्ने सबैको चासोको विषय बनेको छ ।

हाल बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधानका लागि बैंक तथा वित्तीय संस्थाले यसपटक सेयरधनीहरुलाई प्रतिफलस्वरुपः नगद लाभांश वितरण गर्नु उचित हुने भन्दै सामाजिक सञ्जालमा चर्चा समेत चल्न थालेको छ ।

यसले धेरै नभए पनि केही हदसम्म तरलता सहज हुने जानकारहरु बताउँछन् । गत वर्षदेखि वित्तीय प्रणालीमा तरलता समस्या देखिएको छ ।

नेपाली रुपैयाँको तुलनामा डलरको भाउ बलियो हँदै जानु तथा आयात पनि भारीमात्रा वृद्धि हुनुले तरलतामा चाप परेको छ । गत वर्ष रेमिटेन्स वृद्धिदर पनि सुस्त रह्यो । पेट्रोलियम पदार्थको भाउ भने ह्वात्तै बढ्यो ।

यता, नेपाल राष्ट्र बैंकले २०७९/८० को मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि साउन १८ गते एकीकृत निर्देशनजारी गर्दै बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य नाफाको ३०५ सम्म मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था हटाएको थियो ।

सो व्यवस्था भएसँगे अब बैंक/वित्तीय संस्थाहरुले आफ्नो क्षमता अनुसार नगद लाभांश वितरण गर्न पाउने छन् । गत वर्ष तरलता अभावका बीच बैंकहरुको खुद नाफासँगै वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार भएको छ ।

वाणिज्य बैंकहरुको समग्र वितरणयोग्य नाफा ५६ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबर रहेको छ भने विकास बैंकहरुको वितरणयोग्य मुनाफा ३ अर्ब ८८ करोड ८८ लाख रुपैयाँ देखिएको छ ।

वाणिज्य र विकास बैंकको मात्र करिव ६० अर्ब रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा मोटामोटी हिसाब गर्दा बैंकहरुले नगद लाभांश वितरण गर्दा करिव ६० अर्ब रुपैयाँ बजारमा तरलता उपलब्ध हुनेछ ।

यद्यपि, सबै बैंकहरुले पूरै वितरणयोग्य नाफाबाट नगद लाभांश दिन सक्ने सम्भावना न्यून रहेको पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् ।

उनले भने, ‘सबै बैंकले पूरै नगदमा दिने अवस्था छैन । बैंक हरेर हुन्छ, जति लाभांश दिन्छ त्यसको ५० प्रतिशतसम्म नगद दिन सक्छन् ।’ कतिपयको त्यो भन्दा पनि कम हुन्छ ।

यसर्थ, बैंक र विकास बैंकहरुको वितरणयोग्य नाफामा देखिएको करिब ६० अर्ब रुपैयाँ पूरै नगदमा आउने सम्भावना नहुने उनको भनाई छ । ‘करिब २० अर्ब सम्म नगद आउन सक्छ, बाँकी क्यापिटलमा मै जाने सम्भावना छ ।

अर्थात् बोनस सेयर दिन सक्छन्, उनले भने । ‘१३/१४ प्रतिशतकर्जा विस्तार हुनका लागि पनि ६०० अर्ब निक्षेप चाहिन्छ । ५० अर्ब नै दिएछन ‘ भने पनि यही कारणले मात्र तरलता समस्या समाधान भने हुँदैन’उनले भने । तर २०/२५ अर्ब रुपैयाँ बजारमा जाँदा पनि थोरै राहत भने अवश्य हुनेछ । लगानीकर्ताले पनि निकै राहत पाउनेछन् । कर्जाको ब्याज भुक्तानीका लागि पनि यसले सहयोग पुर्याउनेछ ।

आयातीत वस्तुको मूल्य वृद्धि भएका कारण डलरको सञ्चिति घट्न गएकाले निक्षेपमा थप दबाब परेको उनले बताए । निक्षप वृद्धि हुनका लागि आयात कम हुनुपर्ने उनको भनाई छ ।

नगद लाभांश वितरण गर्न बैंकहरुको मिनिमम क्यापिटल रिक्वायरमेन्ट १२ प्रतिशत भन्दा माथि हुनुपर्छ । १२ प्रतिशत भन्दा कम क्यापिटल रिक्वायरमेन्ट भएका बैंकहरुले भने नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

तरलतामा खासै प्रभाव नपर्ने भए पनि बैंकहरुले यसपटक नगद लाभांश वितरण गर्नुपर्ने सेयर बजारका एक जानकारले बताए ।

‘यसपटक बैंकहरुले नगद र बोनस दुवै मिलाएर नै दिनुपर्छ, बैंकहरुको पुँजी पनि धेरै हुँदै गएको छ’, उनले भने, “५०/५५ अर्ब सबै नगदमा वितरण गर्न मिल्दैन तर ३०/३५ अर्ब रुपैयाँमात्र बजारमा आयो भने पनि बैंकहरुलाई केही राहत भने अवश्य हुनेछ ।’

बजारमा रकमको अभाव देखिएपछि केन्द्रीय बैंकले हालै २५ अर्ब रुपैयाँ सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर बजारमा पठाउन लागेको छ ।

पछिल्लो समय राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्न ट्रेजरी बिल्स आफै खरिद गर्न थालेको छ । बैंकहरुले ट्रेजरी बिल्सको ब्याजदर १४ प्रतिशत सम्म राख्न थालेपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो । बजारमा तरलताको समस्या निकै रहेको यसले पनि प्रष्ट बनाउने विश्लेषकहरु बताउँछन् ।

यसरी, बैंकहरुले यसपटक नगद वा बोनस के मा प्राथमिकता देलान् भन्ने अझै पनि चासोकै विषय बनिरहेको छ ।

तथापि, यसपटक बैंकहरुलाई दुवै प्रकारका लाभांश वितरण गर्ने बाटो खुला भएको छ । सन्तुलन मिलाउन र लगानीकर्तालाई खुशी पार्न पनि नगद र बोनस दुवै मिलाएर दिने सम्भावना पनि उत्तिकै छ ।

जे होस्, बैंकहरुले के देलान् भन्ने संवाद, चासो र चर्चा भने सामाजिक सञ्जालमा निकै बढ्न थालेको छ । प्रतिशत भने