back
stc
prabhu insurance

नेपाली चियालाई भारतमा प्रतिबन्ध रोक्न पहल भएन

विराटनगर । भारतको केन्द्रीय र पश्चिम बंगालको प्रान्तीय सदनमा नेपाली चियाको कारण दार्जिलिङ चिया विश्व बजारमा बदनाम भएको भन्दै नेपाली चियामाथि ११ ओटा गम्भीर आरोप सहित याचिका दर्ता भएको छ ।

दर्ता भएको याचिका पारित भए नेपाली चियालाई बजारको समस्या हुनेछ ।  नेपालले  वार्षिक  करीब साढे ३ अर्ब रुपैयाँको चिया भारत निकासी गर्दै आएको छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष सन् २०२०र२१ मा ३ अर्ब ७९ करोड ७१ लाख ३९ हजार रुपैयाँ मूल्यको ११ हजार ९ सय २० मेट्रिक टन चिया संसारका विभिन्न ३३ मुलुकमा निकासी भएको छ ।

यसमा ३ अर्ब ३८ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको ११ हजार ४ सय ७२ टन भारत निकासी भएको छ । भारतले नेपाली चियामा प्रतिबन्ध लगाउने निर्णय गरेमा नेपाली किसान र उद्योगीले यो बजार गुमाउनेछन् ।

नेपालमा १७ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । पहाड र तराईका २४ हजार साना किसान चियाखेतीमा जोडिएका छन् ।

चियासँग सम्बद्ध साना ठूला गरी १४६ उद्योग सञ्चालनमा छन् । चियाको मुख्य बजार भारतमा निकासी गर्न नपाए नेपाली किसानले ८० प्रतिशत बजार गुमाउने निश्चित भएपछि चियासँग जोडिएका किसान, उद्योगी र व्यवसायी अहिले त्रासमा छन् ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट सीटीसी र अर्थोडक्ससमेत गरी ८० प्रतिशत चिया भारतीय बजारमा जान्छ । २० प्रतिशत चिया अमेरिका, चीन, बेलायतलगायत ३२ मुलुकमा निर्यात हुन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा नेपालबाट २ अर्ब ७८ करोड २८ लाख, आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र आव २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको चिया भारतलगायत तेस्रो मुलुकमा निकासी भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।