विद्युतीय भुक्तानीको विस्तार तीव्र
काठमाडौँ । नेपालमा नगदरहित कारोबार तीव्र रूपले विस्तार भइरहेको छ । सजिलो इन्टरनेट पहुँच र बढ्दो विद्युतीय साक्षरता तथा नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वित्तीय संस्थाकै प्रवद्र्धनात्मक कार्यक्रमका कारण पछिल्लो समय भुक्तानीमा मोबाइल बैङ्किङ, कनेक्ट आईपीएस, वालेट तथा क्यूआर कोडजस्ता विभिन्न विधि प्रयोग बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यस वर्षको भदौमा मात्र दुई खर्ब ९२ अर्ब ५४ करोड ५० लाख रुपियाँ कनेक्ट आईपीएसमार्फत कारोबार भएको छ ।
अघिल्लो वर्षको भदौमा दुई खर्ब ३२ अर्ब ५४ करोड ३० लाख रुपियाँको कारोबार भएको थियो । २०७९ भदौमा कनेन्ट आईपीएसमार्पmत ३८ लाख २१ हजार २७७ वटा कारोबार भएका थिए । अघिल्लो वर्षको भदौमा ३२ लाख २४ हजार १७५ वटा कारोबार कनेक्ट आईपीएसबाट भएका थिए ।
मोबाइल बैङ्किङ मार्फत यस वर्षको भदौमा एक खर्ब ४६ अर्ब १४ करोड ३० लाख रुपियाँको कारोबार भएको छ । जुन अघिल्लो वर्षको भदौभन्दा दोब्बर हो । २०७८ भदौमा ७४ अर्ब ३१ करोड रुपियाँको कारोबार मोबाइल बैङ्किङबाट भएको थियो ।
पछिल्लो समय तीव्र प्रगति भएको विद्युतीय मध्यममा क्यूआर कोड पनि परेको छ । यो प्रयोगकर्ताका हिसाबले तीन गुणा र रकमका हिसाबले एक वर्षमा साढे दुई गुणा बढेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ ।
२०७९ भदौमा क्यूआर कोडमार्फत १५ अर्ब दुई करोड ८० लाख रुपियाँ भुक्तान भएको छ । २०७८ भदौमा पाँच अर्ब ८५ करोड ७० लाख रुपियाँ थियो । यो वृद्धि भनेको २।५६ गुणा हो ।
२०७८ भदौमा कुल १५ लाख ७७ हजार ५६१ कारोबार क्यूआर मार्फत भएकामा २०७९ भदौमा ५२ लाख रुपियाँ हजार ८०४ वटा भएको देखिन्छ । यो वृद्धि भनेको तीन गुणाभन्दा धेरै(३२९ प्रतिशत) हो ।
२०७८ असारमा आठ लाख ५५ हजार कारोबार भएका थिए । राष्ट्र बैङ्कले क्यूआर कोड भुक्तानीको आँकडा राख्न थालेको पनि २०७८ असारदेखि हो ।
ई–सेवा खल्ती आईएमई पे, फोन–पेजस्ता डिजिटल वालेटबाट गत वर्षको भदौमा १७ अर्ब ६३ करोड ५० लाख रुपियाँको कारोबार भएको थियो । यो २०७८ भदौमा १४ अर्ब ४२ करोड ७० लाख रुपियाँको थियो ।
आईपीएस र इन्टरनेट बैङ्किङमा गिरावट
आईपीएस मार्फत २०७८ भदौमा एक खर्ब ६८ अर्ब ९५ कोड ६० लाख रुपियाँ कारोबार भएकामा यो भदौमा घटेर एक खर्ब ५८ अर्ब ११ करोड ८० लाखमा सीमित भएको छ ।
आईपीएसको कारोबार सङ्ख्या पनि अघिल्लो भदौको तुलनामा यो भदौमा ५१ हजार २८८ ले कम कारोबार भएको छ ।
राष्ट्र बैङ्कको विवरण अनुसार इन्टरनेट बैङ्किङमार्फत हुने कारोबार पनि घटेको छ । यस वर्षको भदौमा १२ अर्ब १९ करोड ३० लाख रुपियाँको कारोबार भएको छ ।
२०७८ भदौमा यसको प्रयोग गरी १३ अर्ब ५० करोड रुपियाँ थियो । इन्टरनेट बैङ्किङको कारोबार रकम एक अर्ब ३१ करोड रुपियाँले कमी आएको छ ।
वि.सं.२०७९ कात्तिक ६ ०६:४०




















