कुमारी बैंकको सेयर कारोबार फुकुवा
काठमाडौं । कुमारी बैंकको सेयर कारोबार फुकुवा भएको छ । अब आइतबार मंसिर ११ गतेदेखि यसको कारोबार सुरु हुनेछ ।
एनसीसी बैंकसँग मर्ज प्रक्रियाका रहेको कारण असोज ११ गतेदेखि कुमारीको सेयर कारोबार रोक्का रहेको थियो ।
नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।
यी दुई बैंकले गत असोज १० गते मर्जरमा जाने सम्झौता गरेका हुन् । मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ ।
दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।

वि.सं.२०७९ मंसिर ८ १८:२०




















