ग्वार्कोमा फ्लाइओभर बन्दै
ललितपुर । ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एमरएस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ । फ्लाईओभरको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) जियोकमरबीडीएररेज (संयुक्त)ले तयार गरेको हो ।
२०७८ फागुन १९ मा फ्लाइओभरको डिजाइन सुरु भएको थियो । महानिर्देशक थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिने बताउँदै सोही क्रममा ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको निर्माण हुनेछ, निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन, ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्ने छन् ।
” फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । सो फ्लाइओभरको उचाइ ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको (याम निर्माण गरिनेछ । चक्रपथको मुख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।
फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेल बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने छ ।
त्यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘ईपीसी’ मोडलमा निर्माण
सडक विभागका अनुसार यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । यस मोडेल अनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्भे, डिजाइन र कमिसनिङ’ आफैँले गर्नुपर्ने हुन्छ ।
त्यसैगरी निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण कम्पनीको नै हुनेछ । ‘डीएलपी’को अवधिमा फ्लाइओभरको मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
वि.सं.२०७९ मंसिर १९ ०६:१०




















