सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
काठमाडौं । साता दिनपहिले सुरुङमा छाडिएको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो । अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । केही दिनमा मेलम्चीको पानी काठमाडौंका घरघरमा पठाइने उनको भनाइ छ । वितरणका लागि सबै निकायलाई जानकारी पनि गराइसकिएको उनले बताए ।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक नपाएको भन्दै विरोध जनाउँदै आएका छन् ।
केही दिनपहिले सुरुङमा छाडिएको पानी अवलोकनमा पुगेका सांसदहरुसँग उनीहरुले पारिश्रमिक नपाएसम्म काठमाडौंमा पानी वितरण कार्यमा अवरोध पुर्याउने चेतावनी दिएका थिए । उनीहरु अझै पानी रोक्ने योजनामा रहेका छन् ।
यता सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ । काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले मेलम्ची खानेपानी विकास समिति खारेज गरी खानेपानी विभाग मार्फत पानी वितरणको कारण बाह्रै महिना गर्नेगरी कार्ययोजना बनाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
वि.सं.२०७९ मंसिर २० १२:३०




















