सेयर बजारमा चहलपहल सुरू
सेयर बजारमा पछिल्लो समयमा केही चहलपहल र बढोत्तरी देखिएको छ। २०७८ भदौमा ३ हजार २ सय माथि पुगेको नेप्से त्यसयता निरन्तर घटिरहेको थियो। शेर बहादुर देउवा सरकार रहुन्जेल सेयर बजार नेप्से अंक घटेर १ हजार ८ सय वरिपरि आएर स्थिर भएको थियो। केही महिना थोरै अंकको घटबढ हुँदै बजार १९०० को वरिपरि नै नेप्से घुमिराखेको थियो।
नेकपा (एमाले) लगायतका सात दलको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनसँगै उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाए । व्यवहारवादी र अनुभवी नेता पौडेल अर्थ मन्त्री भएपछि सेयर बजारमा आशाको दियो बलेको छ। विगतमा दुईपटक सफल अर्थ मन्त्रीको भूमिका निर्वाह गरेका पौडेल आएसँगै बजारले उकालो यात्रा सुरू तय भएको छ। सेयर बजार लगानीकर्ताहरु बजारलाई निकै चासोका साथ हेरिरहेका छन। केही लगानीकर्ता कम मूल्यका हाइड्रोपावर कम्पनीका बारेमा चर्चा गरिरहेका छन भने केही लगानीकर्ता बढ्दो बजारमा बोनस दिने कम्पनीको खोजी गर्दै छन। पहिले नयाँ भएर फसियो, अब त धैरै सिकियो, राम्रो बोनस पचाउन सक्ने कम्पनी मेरो माइक्रोफाइनान्स र नेको इन्स्योरेन्स खरिद गरेर राम्रै गरे भन्ने लगानीकर्ताहरू पनि पाइएका छन्। अहिले सेयर बजारमा लगानीकर्ताको उपस्थिति राम्रै छ। लगानीकर्ताहरुबीच निर्जीवन कम्पनीको हकप्रदका बारे बहस चलिरहेको छ। केही लगानीकर्ता भने प्राविधिक विश्लेषणमा बजारको करेक्सन २१५० देखि २२०० को बीचमा आउने देखिएकोले चनाखो भएर कारोबार गर्नुपर्ने बताइरहेका छन। अब खरिदका लागि पर्खनु नै उत्तम हुनेछ भन्ने धेरै लगानीकर्ताहरूको ठम्याइ देखिन्छ । यो सेयर बजार सुस्त गतिबाट अब उकालो लाग्दै चलायमान हुन थालेको संकेत हो।
नेप्सेको ओभरली चार्ट विश्लेषण गर्दा बियरिस इन्गिल्फिङ प्याट्रन बनेको छ। यसले अल्पकालमा सामान्य नाफा बुक आउन सक्ने भन्ने देखाउछ। अघिल्लो साताको सेयर बजारको अन्तिम दिनको इन्ट्राडे कारोबारमा २१९० सम्म पुगेको थियो। तर, अन्तिम घन्टामा भने बजार घटेर २१६४ मा बन्द भएको थियो। यती हुँदाहुँदै पनि गत साता बजार दोहोरो अंकले उकालो लागेको थियो। करिव १८५० को विन्दुबाट बढेको बजारमा केही समयदेखि निरन्तर उकालो लागेको छ। तर, गत साताको बढोत्तरीमा अन्तिम घन्टामा भने भोलुमसहित बजारमा करेक्सन आएको थियो। यसले बजारमा तीव्र नाफा बुक भएको बुझ्न सकिन्छ। दैनिक चार्टमा म्याक्डीमार्फत हेर्दा गत २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा नै बन्दै गएका छन्। बोलिंगर ब्यान्डमार्फत हेर्दा क्यान्डलहरु ब्यान्डसँगै हिँडेका छन्। आरएसआई भने ८० को तहमा ओभरबट जोनमा पुगेको दृखिन्छ । बजार अघिल्लोपटकको बलियो प्रतिरोध २२२२ को नजिक(नजिक पुगेका कारण कुनै पनि बेला अहिले इन्ट्राडे करेक्सनमा सीमित बनेको बजारमा केही अंकको करेक्सन हुन सक्ने सम्भावना पनि रहन्छ।
स्टक ब्रोकर अफिसमा अहिले लगानीकर्ताहरूको बाक्लै उपस्थिति देखिन्छ। बजार बल्ल बढ्न सुरु गरेको छ। अब आत्तिने र मात्तिने होइन कि निकै सुझबुझका साथ लगानी गर्दै नाफा पनि बुक गर्दै जान सकिनेतर्फ लगानीकर्ताहरूको विश्वास पलाएको देखिन्छ। अब बजार करेक्सन हुँदै माथि नै जानेछ। तीन वर्षअघि करिव ३२०० को बुलमा बजार ११०० बाट करिब ३ गुणा बढेको थियो। यसपटक त्यो बेलामा भन्दा हकप्रद, बोनस, आईपीओका कारण सेयरको संख्या बढेको छ। लगानीकर्ताको संख्या ५३ लाखभन्दा पनि बढेको छ। विशेषगरी विदेशमा रहेका नेपालीको सेयरमा ठूलो लगानी गर्न थालेकाले बजार बढ्दै–घट्दै निकै माथि जाने अनुमान गर्न सकिन्छ। बजार रातो भएको बेलामा डराएर ङादी ग्रुप पावरको सेयर बिक्री गरेका लगानीकर्ता पछुतो मान्दै छन। ति लगानीकर्ताको भनाइ थियो (अहिले बजार ठूलो अंकले बढ्दा उक्त कम्पनीको सेयरभाउ पनि करिब १० प्रतिशत बढ्यो। मलाई त रुनु न हाँस्नु भयो। लगानीकर्ताको यस भनाइले बढ्दो बजारमा बेच्न हतारिनु हुँदैन भन्ने शिक्षा दिन्छ। बरु राम्रा कम्पनीमा लगानी बढाउँदा बजार अलिअलि तल आएर तर्साउन खोज्छ तर नडराई घटेको बेला आफ्नो स्वपुँजीले सेयर खरिद गर्दै जानुपर्छ। यतिवेला ऋण लिएर सेयर खरिद गर्नु भने हुँदैन। चालू पुँजी सबै सेयर बजारमा मात्र पनि लगानी गर्न हुन्न। विगत दुई वर्षदेखि सेयर,घर जग्गा कारोवारमा मन्दी छ। त्यसैले यी क्षेत्रमा लगानी गर्दा फुकीफुकी कदम चाल्नु पर्छ। यसरी बजार बढयो भने नेप्सेले नयाँ रेकर्ड बनाउँछ।
वि.सं.२०७९ पुस २५ १०:१७




















