back
stc
prabhu insurance

आजदेखि बुटवल–बर्दघाट विद्युत् प्रसारण लाइन ४ घण्टा बन्द हुने

बुटवल । आज बिहीबारदेखि बुटवल–बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत् प्रसारण बन्द (सट डाउन) गर्न लागेको हो ।

नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् अवरुद्ध हुने जानकारी गराएको हो ।

प्रसारण लाइनमा विद्युत् आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र मैनहिया (रुपन्देही) सब स्टेशनहरुबाट सञ्चालित औद्योगिक क्षेत्र तथा गाह्रस्थ उपभोक्ताहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सटडाउन हुँदा बुटवल औद्योगिक क्षेमा रहेका ६५ सहित देवदह, सुनवल, भुमही र बर्दघाटसम्मका करिब दुई सय उद्योगहरूमा दैनिक चार घण्टा विद्युत् प्रसारण हुने छैन ।