back
stc
prabhu insurance

खप्तड र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

खप्तड लघुवित्तको कार्यक्षेत्र सूदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।

दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारी पत्रमा १८ मंसिरमा हस्ताक्षर भएको थियो भने १७ पुसमा नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो ।

अन्तिम सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त बित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष इश्वरलाल राजभण्डारीले हस्ताक्षर गरे ।

धौलागिरी लघुवित्त वित्तिय संस्थाले २४–२९ साउनसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

खप्तड लघुवित्त वित्तीय संस्थाले ८–१२ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको छ ।