निर्धक्क भएर बैंकिङ सेवा दिन बैंकहरुलाई आग्रह: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीसँग छलफल गरेका छन् ।
होटल याक एण्ड यतीमा भएको छलफलमा सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरु सहभागी थिए । छलफलमा गभर्नर अधिकारीले बैंकहरुको खराब ऋण र रिकभरीका बारेमा चासो राखेका थिए ।
पछिल्लो समय खराब कर्जा केही बढेको वा बढ्ने अवस्था भएपनि बैंकहरु समस्याग्रस्त बन्ने अवस्था नरहेको भन्दै निर्धक्क भएर बैंकिङ सेवा दिन बैंकहरुलाई आग्रह गरेको छलफलमा सहभागि एक बैंकरले बताए ।
गभर्नर अधिकारीले वित्तिय संस्थामाथिको विश्वसनियता नै प्रमुख कुरा भएको भन्दै निक्षेपकर्तालाई कुनै समस्या हुन नदिने विश्वास बैंकरले दिलाउनुपर्नेमा जोड दिएका थिए । बैंकरहरुले पनि निक्षेपकर्ताको निक्षेप सुरक्षित राख्न आफूहरु तयार रहेको बताएका थिए ।
छलफलकै सुरुवातमा डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको बैंकिङ क्षेत्र अहिले पनि स्वस्थ रहेको भन्दै बैंकहरुले नियामक निकायको निर्देशन पालन गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।
राष्ट्र बैंकले केही राहतको संकेत दिने अपेक्षाका साथ छलफलमा सहभागी भएका बैंकरलाई गभर्नरले कुनै नीतिगत परिवर्तनको वा राहतको संकेत गरेनन् ।
वि.सं.२०७९ चैत १४ १५:५५



















