back
prabhu insurance
himalayanlife

पाठ्यपुस्तक छपाइका लागि कागज खरिद

काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइका लागि आइतबार कागज खरिदका लागि टेन्डर आह्वान भएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले पहिलो चरणमा तीन हजार मेट्रिक टन कागज खरिदका लागि टेन्डर आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले विगतमा नयाँ शैक्षिक सत्रका लागि साउन–भदौतिर मात्र कागज खरिदको प्रक्रिया थालिने गरेको बताउँदै भन्नुभयो, “२०८१ को शैक्षिक सत्रका लागि आगामी जेठदेखि पाठ्यपुस्तक छपाइ कार्य सुरु गर्दैछौँ । सरकारले कक्षा १–१२ कै छपाइको जिम्मा हामीलाई दिएमा त्यो अभिभारा पूरा गर्न सक्छौँ ।”

उहाँले गत वर्ष तीनवटा मेसिन थपिएकाले समयमा पाठ्यपुस्तक छपाइ गर्न सहज भएको बताउँदै हाल २४ घण्टा मेसिन सञ्चालन हुँदै आएको र प्रतिदिन दुई लाख ४० हजार थान पाठ्यपुस्तक छपाइ हुँदै आएको जानकारी दिनुभयो ।

अङ्ग्रेजी माध्यमका कक्षा १–१० का पाठ्यपुस्तक आगामी दुई हप्ताभित्र छपाइ गरिसक्ने जानकारी दिइयो । कक्षा १–५ मा २० हजार सेट र कक्षा ४–१० मा २५ हजार सेट अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक छपाइ हुनेछ ।

शिक्षा सचिव रामकृष्ण सुवेदीले देशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको बताउनुभयो । उहाँले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु(याउने विषयलाई सरकारको साझा न्यूनतम कार्यक्रमको प्राथमिकतामा राखिएको बताउँदै योजनाबद्ध ढङ्गले समयमा कार्यसम्पादन हुन सक्दा समयमा पाठ्यपुस्तक पुग्न सकेको बताउनुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निजी मुद्रण संस्थाले कक्षा १–५ का एक करोड १८ लाख थान र जनक शिक्षाले छापेको कक्षा ६–१० का एक करोड ५५ लाख थान पाठ्यपुस्तक ७७ वटै जिल्लामा पुगेको जानकारी दिनुभयो ।

उहाँले सूचीकृत एक हजार २६७ स्थानीय विक्रेता मार्फत बिक्री वितरण गरिएको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।