बीएमडब्लूको इलेक्ट्रिक एसएभी ‘आइएक्स–३’ नेपाली बजारमा
काठमाडौं । बीएमडब्लूको सर्वाधिक सफल मोडल ‘आइएक्स–३’ नेपालमा सार्वजनिक भएको छ । यो जर्मन प्रिमियम कार ब्राण्ड हो । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आइएक्स ३ नेपाल ल्याएको हो ।
बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आइएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल रहेको कम्पनीले जनाएको छ । प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आइएक्स–३ को बलियो पक्ष रहेको कम्पनीको भनाइ छ ।
८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पिएस र टर्क ४०० न्यूटन मिटर रहेको कम्पनीको भनाइ छ ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटिपीको परीक्षणले प्रमाणित गरेको छ ।
उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राखेको छ ।
यात्रालाई अस्मिरणीय बनाउन म्युजिकको लागि १६ वटा स्पिकर प्रयोग र हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिने कम्पनीले जनाएको छ । यसमा पानारोमिक ग्लास रुफको प्रयोग गरिएको कारण दिन र रातको समयमा पनि खुला आकासको दृश्यावलोकन गर्न सकिने छ ।
यो गाडीमा ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर ¥याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बीयन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउने कम्पनीको दाबी छ ।
स्टाइलिस डिजाइनमा तयार भएको एसएभिमा २० इन्चको एरोडायनामिक ह्वील पाउन सकिन्छ । कम्पनीका अनुसार बीएमडब्लू अटोमोटिभ क्षेत्रमा पृथक र नवीन उत्पादनको लागि परिचित र अग्रणी कम्पनी हो ।
वि.सं.२०८० साउन ३ ०८:२१




















