back
prabhu insurance
himalayanlife

प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा दार्चुला शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट सहित ७ जनाविरुद्ध मुद्धा दायर गरिएको हो ।

अधिकृत सुरेन्द्र बहादुर विष्टसहित इन्जिनियर सन्तोष पाण्डेय, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

नगरपालिका वडा नम्बर ६ पनेबाज मौरीभिटा देखि वडा नम्बर ७ र ८ को बन्तोली बोहरीगाउँको सडक(खण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी दिएको अख्तियारको ठहर छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्टले आ.व. २०७४/०७५ र आ.व.२०७५/०७६ मा सञ्चालित पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बङ्ग्याइ कटिङ गर्दा बढी दररेट रहेको हार्ड रकको परिमाण अस्वभाविक रूपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी रु.२६ लाख २ हजार ५ सय ५६ रुपैयाँ ११ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) वमोजिमको कसुर गरेको अख्तियारको दाबी छ । सोही दफा बमोजिम बिगो रकम असुल उपर हुनसमेत मागदाबी लिइएको छ।