back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल  राष्ट्र  बैंकले कुल १ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड ४० लाख, विकास बैंकहरुमा २६ करोड ७० लाख र फाइनान्स कम्पनीहरुमा ८ करोड ९० लाख राख्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले उक्त निक्षेप २०८० असोज २ गतेदेखि २०८१ असोज ३ गतेसम्म ३६७ दिन अवधिको लागि राख्न लागेको हो।

उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २४ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ। राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।

निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने,कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु राखिएको जनाएको छ ।