back
prabhu insurance
himalayanlife

नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ ।

परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो ।

गत मङ्सिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो ।

आज विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार नौ सय ३० कित्ता शेयर ७१ हजार आठ सय ८० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन् ।

वित्त समूह एक दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ४२ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ ।

यो कम्पनीको रु २५ करोड १८ लाख १२ हजार दुई सय ४२ बराबरको चार लाख १५ हजार नौ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।