back
stc
prabhu insurance

पचास प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी आयात गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले ५० प्रतिशत भन्सार छुुटमा २० हजार मेट्रिक टन चिनी आयातको अनुुमति साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दिएको छ ।

आगामी दशैं,तिहार र छठपर्व जस्ता चाडपर्वका बेलामा बजारमा चिनीको अभाव हुुन नदिनका लागि अर्थ मन्त्रालयले यी दुई अर्ध सरकारी र पुर्ण सरकारी निकायलाई चिनी आयात गर्न अनुुमति दिएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बताएको छ ।
अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दसर दश हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अनुमति प्रदान गरेको छ । हाल चिनी आयातमा भन्सार महसुल ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नु पर्दछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० हजार टन चिनी आयात गर्न अर्थ मन्त्रालयमा सहमति माग गरेको थियो । तर अर्थ मन्त्रालयका प्रवक्ताले चिनी आउन समय लाग्ने हुँदा नजिकिदै गरेको चाडबाडलाई ध्यानमा राखी गरी तत्कालका लागि २० हजार मेट्रिक टन चिनी आयात गर्न मन्त्रीस्तरीय निर्णयबाट अनुमति प्रदान भएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिएका छन ।

साल्ट ट्रेडिङ कर्पोरेसनले ५० हजार मेट्रिक टन र खाद्य व्यवस्थाबाट १० हजार मेट्रिक टन गरी ६० हजार मेट्रिक टन चिनी आयात गर्न अर्थ मन्त्रालयसँग माग गरेका थिए तर अर्थ मन्त्रालयले चिनी आयात गर्न धेरै ढिलो गरी अनुमति दिएको कर्पोरेसन उच्च प्रशासन स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयले १० हजार मेट्रिक टन चिनी आधा भन्सार छुटमा आयात गर्न अनुमति दिएपछि अब साल्ट ट्रेडिङ कर्पोरेसनले छोटो प्रक्रियामार्फत छिमेकीमुलुक भारतबाट एक महिनाभित्र चिनी आयात गर्ने कर्पोरेसन स्रोतले जनाएको छ ।

खुला बजारमा चिनीको मुल्य बढदै गएपछि बजारमा हस्तक्षेप गरि मूल्य नियन्त्रण कायम गर्न अर्ध सरकारी निकायका रूपमा रहेका साल्ट ट्रेडिङ कर्पोरेसन र पुर्ण सहकारी निकायका रूपमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन वर्षदेखि चिनी आयात गर्न सरकारबाट अनुमति पाएका थिएनन् ।

यसले गर्दा अहिले बजारमा चिनीको मूल्य बढेको छ। ७० रूपैयाँमा पाइने चिनीको मूल्य अहिले १०५ देखि ११० रूपैयाँ सम्म पर्दै आएको छ।

भारतबाट भन्सार छुटमा चिनी आयात नगर्ने हो भने दशैं,तिहार र छठमा चिनीको चरम अभाव,कालोबजारी हुने र मूल्य १५० रूपैयाँ सम्म पर्ने स्थिति हुने अवस्था छ। तीन वर्षदेखि साल्ट ट्रेडिङले आमउपभोक्तालाई खुद्रा मूल्यमा एकदेखि दुई किलोका दरले चिनी बिक्री गर्दै आएको छ।

खाद्य व्यापार कम्पनीले तीन वर्षदेखि चिनी बिक्री गरेको छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले भन्सार छुटमा चिनी आयातको अनुमति नपाउँदा बर्सेनि सरकारले चाडबाडको समयमा आयोजना गर्दै आएको सुपथ मूल्य पसलबाट केही छुटमा चिनी बिक्री हुन छाडेको थियो ।

चिनी नै नभएपछि साल्ट कर्पोरेशन र खाद्य व्यापार कम्पनीले चीनी बेच्न सकेका थिएनन। यसले गर्दा सीमित चिनी मिल र व्यापारीहरूले मिलेमतो गरी चिनीको मूल्य आफूखुसी बढाएर उपभोक्तालाई महँगीको भार थोपर्दै आएका थिए ।

तिज,दशैं,तिहार,छठपर्व जस्ता चाडपर्वका बेला बजारमा चिनीको माग धेरै हुने हुुँदा निजी चिनी उद्योग र व्यवसायीहरूले आफुखुशी मूल्य बढाएर उपभोक्ता ठग्ने हुँदा बजार मूूल्य नियन्त्रण गर्न र उपभोक्ताहरूलाई खाद्यान्न सहित दैनिक उपभोग्य सामाग्री साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी जस्ता अर्ध सरकारी र पुर्ण सरकारी निकायबाट सुुपथ मूूल्यमा बिक्री हुने गर्दै आएको छ ।