हेम बहादुर सम्मान पुरस्कार गोरक्ष बहादुर र भानु प्रसाद आचार्यलाई
काठमाडौं । नेपाल जनप्रशासन संघले हेम बहादुर मल्ल २०७७ सालको सम्मान पुरस्कार पुर्व प्रशासक गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई र २०७८ सालको पुरस्कार पुर्व सचिव भानु प्रसाद आचार्यलाई प्रदान गर्ने भएको छ।
न्हुन्छे प्रधान करिव चार दशक सरकारी सेवामा रहेका थिए। उनी प्रधानमन्त्री कार्यालय,राष्ट्रिय योजना आयोग पर्यटन मन्त्रालयको सचिव र अर्थ मन्त्रालयमा रहेर काम गरेका थिए।
अवकासपछि पनि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र उच्चस्तरीय प्रशासन सुधार अनुगमन समिति २०४८ को प्रमुखका रूपमा पनि कुशलतापुर्वक काम गरेका थिए।
यसैगरि आचार्यले सरकारी सेवाका क्रममा महालेखा नियन्त्रण,अर्थ सचिव,उद्योग,वाणिज्य तथा आपूर्ति सचिव र महालेखा परिक्षकका रूपमा उत्कृष्ट भूमिका निर्वाह गरेका थिए। पुरस्कृत पुर्व प्रशासकहरूलाई सम्मानपत्र सहित जनही नगद दुई लाख प्रदान गरिने भएको छ। प्रधान यो सम्मान प्राप्त गर्ने अठारौं र आचार्य उन्नाइसौं व्याक्ति हुन।
२०४७ सालमा स्थापना भएको जनप्रशासन संघले ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व। हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको संस्थापक प्रमुख र अन्य नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ठ योगदान पुरयाएवापत निजको सम्झना र सम्मानमा हेम बहादुर मल्ल सम्मान स्थापना गरिएको हो। उहाँको २०५७ सालमा हृदयाघातभई निधन भएको थियो।
यो सम्मानपत्र तथा पुरस्कार छनोटका लागि पुर्व गभर्नर एवं पुर्व सचिव दिपेन्द्र पुरूष ढकालको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन भएको थियो।
जसमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा,साल्ट ट्रेडिङ कर्पोरेसनका तात्कालिक अध्यक्ष कल्याण गोविन्द श्रेष्ठ,पुर्व सचिवद्वय पुर्णचन्द्र भट्टराई र याम कुमारी खतिवडा सदस्य रहेका थिए।
संघले आज साउन २ गते साल्ट ट्रेडिङ कर्पोरेसनमा एक पत्रकार सम्मेलन गरि पुरस्कार प्राप्त गर्ने दुई पुर्व प्रशासकको नाम घोषणा गरेको छ। सो कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदिप लाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, कर्पोरेसनका सञ्चालक समिति सदस्य लगायतको उपस्थिति रहेको थियो।
सम्मानित र पुरस्कृत व्याक्तिहरू प्रधान र आचार्यलाई भोली साउन ३ गते रयाडिसन होटलमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवबाट सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ।
वि.सं.२०८० साउन २ १७:३१




















