back
stc
prabhu insurance

निरन्तरको वर्षासँगै दर्जन जलविद्युत् आयोजना प्रभावित

काठमाडौँ । निरन्तरको वर्षासँगै आएको बाढीको प्रभाव स्वरूप शनिबार करिब एक दर्जन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ ।

शुक्रबारदेखि परेको वर्षा शनिबार रातिसम्म कायम रहेकाले कतिपय जलविद्युत् आयोजना सञ्चालनमा आउन नसकेका र कतिपय नदीमा जलप्रवाहको अवस्था हेरी सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

शनिबार बिहानैदेखि ६४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको थियो । नदीमा ठुलो बाढी आउँदा ल्याउने ढुङ्गा, रुख लगायतका ठुला गेग्य्रानले सुरुङ तथा पावर हाउस लगायतका संवेदनशील संरचनामा क्षति पुग्ने भएकाले विद्युत् आयोजनाहरू अल्पकालीन रूपमा बन्द गर्ने गरिएको नेपाल विद्युत् प्राधिकरणका उत्पादन निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आयोजना बाढीका कारण क्षति हुनबाट जोगाउन अवस्था हेरेर अल्पकालीन सटडाउन गरिन्छ । यो समयमा आयोजना बाँध तथा डिसेन्डर मर्मत तथा सरसफाइको काम पनि हुन्छ ।”

बन्द गरिएको ६० मेगावाटको माथि त्रिशूली थ्री ‘ए’ २१ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना पनि शनिबार दिउँसोबाटै सुचारु भएको छ । १० मेगावाटको सुनकोशी जलविद्युत् आयोजनाबाट पनि विद्युत् उत्पादन बन्द भएको थियो । कालीगण्डकी जलविद्युत् आयोजना पनि शनिबार साँझ पुनः बन्द गरिएको थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रभावित भए पनि आयोजनामा क्षति भने नपुगेको जानकारी दिनुभयो । “शनिबार रातिसम्म कुनै पनि जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारीमा आएको छैन,” उहाँले भन्नुभयो, “बाढीको क्षति हुनबाट जोगाउन केही आयोजना अंशिक बन्द गरिएका हुन् ।”

निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन बन्द भएको थियो ।

यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए’, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशूली, पाँच मेगावाटको देवीघाट र १४ मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भएका थिए ।