back
prabhu insurance
himalayanlife

स्वास्थ्य बीमालाई ५ लाख पुर्‍याउने मन्त्री पौडेलको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख पुर्‍याउने बताएका छन् ।

कोसी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज भएको सम्झौतापत्र हस्ताक्षर समारोहमा उनले संघ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई पाँच लाख पुर्‍याउने जानकारी दिएका हुन् ।

मन्त्री पौडेलले मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमा बोर्डमा हाल्नुपर्ने भन्दै कोसी अस्पतालको सेवा व्यापक सुधारको खाँचो रहेकामा जोड दिए ।

उनले आज हस्ताक्षर र सम्झौताले अर्बुद रोग उपचारका लागि नागरिकलाई चितवन र भक्तपुरमा जानुपर्ने बाध्यतालाई केही हदसम्म अन्त्य गर्ने धारणा राखे ।

मन्त्री पौडेलले भने, ‘जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्नु हुँदैन, जनतालाई लोकतन्त्रको महसुस गराउन स्वास्थ्य सेवासुविधा सहज, सरलीकृत, गुणस्तरीय र निःशुल्क हुनुपर्छ, आफ्ना क्षमताले भ्याएसम्म जनताको उपचारमा लाग्नुपर्छ ।’

मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोसी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रुपमा कायम गर्नुपर्नेमा जोड दिए ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसे र कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविनराज सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।