back
stc
prabhu insurance

 सरकारले भारतबाट खरिद गरेको उन्नाइस हजार मेट्रिक टन चिनी आउँदै

काठमाडौँ । सरकारले भारतबाट खरिद गरेको १९ हजार मेट्रिक टन चिनी आउँदो साता नेपाली बजारमा आइपुग्ने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट चिनी खरिद गर्नका लागि छनोट गरेका सात वटा निजी व्यापारिक फर्मले आउने साता सो परिमाणको चिनी ल्याउने जनाएका हुन् ।

विभागका महानिर्देशक राजन पौडेलले आउँदो साता भारतबाट खरिद गरेको १९ हजार मेट्रिक टन चिनी बजारमा आइपुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार चिनी बजारमा आएपछि प्रतिकिलोग्राम १०७ रुपियाँ ५० पैसामा बिक्री गरिने छ ।

यसअघि विभागले चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये सात वटा छनोट गरेर चिनी खरिदका लागि पत्राचार गरेर एक सातामै प्रक्रिया सुरु गर्ने निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार छनोट भएका निजी व्यापारी फर्मले चिनी खरिद प्रक्रिया पूरा गरेर अर्को साता नेपाली बजारमा ल्याउने विभागले जनाएको छ ।

विभागका अनुसार बढीमा दुई हजार आठ सय मेट्रिक टन र थोरैमा दुई हजार सात मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी व्यापारिक फर्म छनोट भएका छन् । चिनी खरिदका लागि छनोट भएका फर्मले निर्णय भए अनुसार चिनी खरिद गरिसकेका छन् ।

विभागले १९ हजार मेट्रिक टन चिनी खरिद गर्न चाहने व्यापारिक फर्मसँग साउन २३ गते सूचना आह्वान गरेको थियो । छनोट भएका व्यापारिक कम्पनीमार्फत चिनी खरिद भएपछि आमउपभोक्तालाई सहज हुने गरी बजारमा पठाइने विभागका महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष कात्तिकमा नै भारत सरकारबाट नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने विषयमा सहमति भएको थियो । जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गर्ने उल्लेख थियो ।

बजारमा चिनी महँगो भएको भन्ने हल्ला आइरहेका बेलामा यो परिमाणको चिनी बजारमा आएपछि यसको मूल्य स्वतः घट्ने अपेक्षा गरिएको छ ।

उक्त परिणामको चिनी नेपाली बजारमा आएपछि चिनीमा कुनै समस्या नहुने विभागका महानिर्देशक पौडेलले बताउनुभयो । हाल बजारमा केही चिनी उद्योगीले गर्दै आएको मनोमानी पनि पूर्ण रूपमा अन्त्य हुने दाबी गर्नुभयो ।

चिनी आयातको कोटा प्राप्त गरको मितिमा साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको चिनीको मूल्यमा उपभोक्ताले पाउने गरी चिनीको बिक्री आपूर्तिको प्रबन्ध मिलाउने विभागले जनाएको छ ।

उक्त चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट सञ्चालन हुने सहुलियत मूल्य पसलमा पनि सोही चिनी राखेर बिक्री गर्ने व्यवस्था गरिने विभागले तयारी गरेको छ ।

विभागका अनुसार आयात गरिएको चिनीको भण्डारण, मौज्दात, बिक्रीको अवस्थाका विषयमा साप्ताहिक रूपले विभागमा जानकारी गराउने, कोटा प्राप्त गरेका फर्मले मापदण्ड बमोजिम गुणस्तरको चिनी मात्र आयात गर्नुपर्ने, विभागबाट चिनी आयातको कोटा प्राप्त गरेको मितिले सात दिनभित्र एनसिइएलसँग गरेको सम्झौतापत्र वा प्रतीतपत्र जारी भएको पत्र विभागमा पेस गर्नुपर्ने, उक्त अवधिभित्र सम्झौतापत्र वा प्रतीतपत्र जारी भएको पेस नगरे अनुमतिपत्र स्वतः खारेज हुने छ ।