back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जा सम्बन्धी सीमा तोके

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्नेलाई लक्षित नेपाल राष्ट्र बैङ्कले यसको सीमा तोकेको छ ।

पछिल्लो समय सेयर बजारमा लगानी गर्नेहरू बढिरहँदा सेयर कर्जा लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । सेयर बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ता बाहेकको  हकमा  यस्तो कर्जाको अधिकतम  एकल ग्राहक  कर्जा सीमा कुल १५ करोड रुपियाँ (कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट कुल) कायम रहेको छ ।

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाका लागि सुरक्षण बापत सेयर राखिन्छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा थप धितोका लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने राष्ट्र बैङ्कको सर्कुलरमा उल्लेख छ ।