नेपाल वित्तिय प्रतिवेदन मान –१७ लागू गरिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लेखासम्बन्धी नियामक निकाय तथा
सरोकारवालाहरूसँग अन्तक्रिया गरि नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस–१७) कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखा सम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्रिया कार्यक्रम गरेको छ ।
आगामी २०८२ साल साउन १ गतेदेखि बीमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउन लागेको एनएफआरएस–१७ को कार्यान्वयनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने तयारी, नियामक निकायहरूको भूमिका, जनशक्ति तथा नवीनतम प्रविधिको प्रयोगलगायतका विषयमा छलफल गर्ने उद्देश्यकासाथ उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले आगामी २०८२ साल साउन १ गतेदेखि एनएफआरएस–१७ कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेदेखि नै यसलाई गम्भीरतापूर्वक लिई आवश्यक तयारी गर्नुपर्ने बताएका थिए ।
सो कार्यक्रममा अध्यक्ष सिलवालले एनएफआरएस–१७ कार्यान्वयन गर्न कठिनाई भए पनि कार्यान्वयन गर्नुपर्छ, गर्न सकिन्छ । यसका लागि मार्गनिर्देश बनाएर अगाडि बढ्नुपर्छ, नियामक निकायहरू सहयोग गर्न तयार छन् भनेका थिए।
अध्यक्ष सिलवालले एनएफआरएस–१७ कार्यान्वयनमा सहयोग गर्न प्राधिकरणको संयोजकत्वमा लेखासम्बन्धी नियामक निकायहरूका यससम्बन्धी विज्ञहरू रहेको समिति गठन गर्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसमा सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका थिए ।
उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष प्रवीणकुमार झाले बीमा क्षेत्रमा एनएफआरएस–१७ कार्यान्वयनका लागि आईक्यानबाट सूचना आदान–प्रदान लगायत पूर्णरूपमा सहयोग हुने जानकारी दिएका थिए ।
लेखापरीक्षणमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन । लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले आगामी आर्थिक वर्षदेखि एनएफआरएस–१७ कार्यान्वयन गर्नका लागि ठोस कार्ययोजनाका साथ समयमै काम सुरू गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल अधिकारीले एनएफआरएस–१७, आरबीसी, आरबीएस र ओरआरएसएको कार्यान्वयनबाट बीमा क्षेत्र थप सबल, विश्वसनीय, पारदर्शी र जवाफदेही हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखापरीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता रहेको थियो ।
बीमा क्षेत्रमा आगामी २०८२ साल साउन १ गतेदेखि एनएफआरएस–१७ पूर्णरूपमा कार्यान्वयनमा आउने र बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ देखि एनएफआरएस–१७ मा आधारित वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था रहेको छ ।
वि.सं.२०८१ असोज १८ ०८:२२

















