back
stc
prabhu insurance

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सलाई मुख्य प्रायोजन गर्ने सम्झौता गरेको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता सम्पन्न भयो। बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतापछि ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे।

उनले बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि यो कदम चालेको उल्लेख गर्दै खेलकुदलाई अझ उच्चस्तरमा पुर्‍याउन आफ्नो दायित्व निर्वाह गर्न आफूहरू उत्साहित रहेको बताए।

सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले एनपिएल यात्रामा सहकार्यका लागि बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको साथले आफ्नो टोलीलाई उपाधि जित्ने लक्ष्यमा थप बल पुगेको बताए। उनले उपाधि जितेर थप खुशी प्रदान गर्ने विश्वास व्यक्त गरे।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) मंसिर १५ देखि पुस ६ सम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। सुदूरपश्चिम रोयल्सको टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण छ। टोलीका मार्की खेलाडी कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्।

मेन्टरका रूपमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन्। सुदूरपश्चिम रोयल्सले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफ अली जेब (इङ्ग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (युएई) रहेका छन्।