ज्योति विकास बैंकको नाफा १०१.१४ प्रतिशतले बढ्यो
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा १०१.१४ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले १५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ८३ करोडबाट घटेर ५२ करोड १६ लाख रुपैयाँमा झरेको छ । यसको सञ्चालन नाफा पनि ९८.३८ बढेको छ । गत वर्ष २२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर ४३ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ ।
ज्योतिको खुद ब्याज आम्दानी भने ७.१९ प्रतिशतले घटेर १ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष ४ रुपैयाँ ६२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ९ रुपैयाँ ३ पैसा (वार्षिक) कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.९ रुपैयाँ रहेको छ ।
वि.सं.२०८२ वैशाख ८ १२:५७

















