back
prabhu insurance
himalayanlife

युनाइटेड अजोड इन्स्योरेन्सको आज ३१ औँ वार्षिक साधारण सभा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले ३१ औँ वार्षिक साधारणसभा बस्ने भएको छ। साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

साधारण सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस अघि कम्पनीले बोनस शेयर घोषणा गर्नुअघि हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजाने तयारी गरेको छ। तर, बोनस शेयर वितरणपछि इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरको आकार १० प्रतिशतमा झारेको हो।

हकप्रद शेयर जारीपछि इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।

यसैगरी साधारण सभाले नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ। साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।