back
stc
prabhu insurance

माउन्टेन इनर्जी र सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडले आ–आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १७ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ।

माउन्टेन इनर्जीको गत कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो।

यो प्रस्ताव पारितका लागि यही मंसिर २९ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट क्याटेरिंग एण्ड इभन्ट्समा बिहान १० बजेदेखि १२औं वार्षिक साधारणसभा बस्दैछ।

सुपर मादी हाइड्रोपावरको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको थियो।

यो निर्णय पारित गर्नका लागि आउँदो पुस ४ गते शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सोह्रौं वार्षिक साधारण सभा बस्दैछ।