back
stc
prabhu insurance

रेमिट्यान्समा ३९%को उछाल, विदेशी मुद्रा सञ्चिति रु ३२.४२ खर्ब माथि

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार मुलुकको आर्थिक तथा वित्तीय अवस्था सकारात्मक नै रहेको छ।

तथ्यांकअनुसार २०८२ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई रु। १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५७.० प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.७ प्रतिशतले कमी आएको छ।

पुससम्म कुल वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई रु ९ खर्ब ३९ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.१ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५।९ प्रतिशत, २२.१ प्रतिशत र ३२.४ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले वृद्धि भई रु ७ खर्ब ९७ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.४ प्रतिशतले वृद्धि भएको थियो।

चालु आर्थिक वर्षको पुससम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३९.१ प्रतिशतले वृद्धि भई रु १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो। २०८२ पुस महिनामा विप्रेषण आप्रवाह रु १ खर्ब ९२ अर्ब ६२ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो।

समीक्षा अवधिमा चालु खाता रु। ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु। १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ५ खर्ब १ अर्ब २४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको थियो।

२०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा रु। ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ।

पुससम्म आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।