बैङ्किङ प्रणालीमा निक्षेप साढे ७९ खर्ब रुपियाँ नाघे
काठमाडौँ । नेपालको बैङ्किङ प्रणालीमा निक्षेप तीव्र रूपमा बढ्ने तर कर्जा प्रवाह भने सुस्त नै रहने अवस्थाले चुनौती थप्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैङ्किङ प्रणालीमा निक्षेप साढे ७९ खर्ब रुपियाँ नाघेको छ तर कर्जा प्रवाह भने ५८ खर्ब ७४ अर्ब रुपियाँमा सीमित छ ।
यसले बैङ्कहरूसँग पर्याप्त लगानीयोग्य स्रोत थुप्रिएको छ । ब्याजदर घट्दा पनि निजी क्षेत्रबाट कर्जा माग अपेक्षा अनुसार बढ्न नसक्दा तरलता परिचालन चुनौतीपूर्ण बन्दै गएको हो ।
तरलता सहज भए पनि अर्थतन्त्रमा माग पक्ष कमजोर रहेको छ । पछिल्लो तथ्याङ्कले बैङ्कहरूसँग लगानीयोग्य स्रोत पर्याप्त भए पनि त्यसको प्रभावकारी परिचालन चुनौतीपूर्ण बन्दै गएको देखाएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार नेपालको बैङ्किङ प्रणालीमा कुल निक्षेप ७९ खर्ब ५२ अर्ब रुपियाँ पुग्दा कर्जा प्रवाह ५८ खर्ब ७४ अर्ब रुपियाँमा सीमित छ ।
कुल निक्षेपमध्ये वाणिज्य बैङ्कहरूको हिस्सा ७१ खर्ब ७२ अर्ब रुपियाँ रहेको छ भने विकास बैङ्क र फाइनान्स कम्पनीको संयुक्त निक्षेप सात खर्ब ८० अर्ब रुपियाँ छ । कर्जा प्रवाहतर्फ पनि वाणिज्य बैङ्कहरूले ५२ खर्ब २६ अर्ब रुपियाँ लगानी गर्दा अन्य वित्तीय संस्थाको हिस्सा छ खर्ब ४८ अर्ब रुपियाँ मात्र रहेको छ ।
नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे निक्षेप बढ्नु सकारात्मक भए पनि त्यस अनुसार कर्जा विस्तार हुन नसक्नु बैङ्किङ प्रणालीका लागि चुनौतीपूर्ण बनेको बताउनुहुन्छ । “ब्याजदर घट्दै जाँदा पनि निजी क्षेत्रबाट उल्लेख्य रूपमा नयाँ कर्जा माग आएको छैन,” उहाँले भन्नुभयो, “व्यवसायीले अझै पनि लगानी विस्तारका योजना ल्याएका छैनन् । कर्जा प्रवाह बढेको छैन ।”
स्रोतको अभाव नभए पनि विश्वास र मागको अभाव भएको भन्दै उहाँले अर्थतन्त्रमा लगानी गर्ने वातावरण बलियो नबनाएसम्म बैङ्किङ प्रणालीको तरलता पूर्ण रूपमा परिचालन हुन नसक्ने बताउनुभयो ।
बैङ्कहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७३.१८ प्रतिशत रहेको छ, जुन नियामकीय सीमाभित्रै छ । सामान्यतया यो अनुपात सुरक्षित दायराभित्र रहनु सकारात्मक मानिन्छ किनकि यसले बैङ्कहरूसँग थप कर्जा विस्तार गर्ने क्षमता अझै बाँकी रहेको सङ्केत गरेको छ ।
यता अन्तरबैङ्क ब्याजदर २.७५ प्रतिशतमा झर्नु बैङ्किङ प्रणालीमा तरलता पर्याप्त रहेको अर्को सङ्केत हो । जब बैङ्कबिच सापटी लिनेदिने दर घट्छ, त्यसले छोटो अवधिमा पैसाको अभाव नरहेको देखाएको छ र ब्याजदरमा थप गिरावटको सम्भावनाको पनि सङ्केत गरेको छ ।
निक्षेप तीव्र गतिमा बढ्दै जाँदा कर्जा विस्तार अपेक्षाकृत सुस्त रहनुले अर्थतन्त्रमा माग पक्ष कमजोर रहेको सङ्केत दिएको छ । यस्तो अवस्थामा बैङ्कहरूसँग पर्याप्त लगानीयोग्य स्रोत भए पनि गुणस्तरीय कर्जा माग अभावमा पुँजी परिचालन चुनौतीपूर्ण बनेको छ ।
वि.सं.२०८३ वैशाख २७ ०७:१२

















